काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
अ+
अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमै निर्वाचन गर्न सरकारले सबैखाले तयारी गरिरहेको बताएका छन्।

गोरखापत्र संस्थानद्वारा बिहीबार आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उनले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए। सरकारका प्रवक्तासमेत रहेका खरेलले भने, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ। निर्वाचन त उत्सव होइन, अब महोत्सव बन्दै छ।”

सरकारले सबैखाले स्रोत-साधन र जनशक्तिको व्यवस्था गरेर निर्वाचनका लागि तयारी गरिरहेको उनले जानकारी दिए। “मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ,” उनले भने‚ “निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ। सबैजसो राजनीतिक दलहरु निर्वाचनमा होमिएका छन्।”

सञ्चारमन्त्री खरेलले जेन-जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पूरा गर्न सक्रिय भएको उल्लेख गरे। उनले तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेको जानकारी दिँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको प्रस्ट पारे। उनले भने, “हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ।”

‘गोरखापत्र डिस्कोर्सको निष्कर्षलाई सरकारले ग्रहण गर्छ’
सञ्चारमन्त्री खरेलले गोरखापत्र डिस्कोर्सबाट प्राप्त निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने प्रतिबद्धतासमेत जनाए। उनले भने, “जेन-जी जनआन्दोलनपछिको पुनर्निर्माण र विकासको सन्दर्भमा मुलुकलाई समुन्नति तथा आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन यो डिस्कोर्सले महत्त्वपूर्ण भूमिका खेल्नेछ। डिस्कोर्सको निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्नेछ‚” उनले भने।