उज्ज्वल थापा फाउन्डेसनको संवाद शृंखला
काठमाडौँ। विदेशमा रहेका तथा नेपालभित्रै पनि आफ्नो स्थायी बसोबासभन्दा फरक जिल्लामा बसोबास गर्ने नेपालीको मतदानअधिकारको माग गरिएको छ।
उज्ज्वल थापा फाउन्डेसनले काठमाडौँमा बिहीबार विभिन्न राजनीतिक दल तथा अभियन्तबीच गरेको छलफलमा यस्तो माग गरिएको हो। कार्यक्रममा आप्रवासी नेपालीको मताधिकारबारे पैरवी गर्दै आएका सरु श्रेष्ठ र स्तम्भकार तथा गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य अमन पन्तले विदेशमा रहेका र नेपालभित्र बेजिल्लामा रहेका नागरिकको मताधिकार सुनिश्चितको माग गरे। उनीहरुले विभिन्न अध्ययन तथा तथ्य पनि कार्यक्रममा प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक दलबीचमा गोलमेच सम्मेलन राखेर विदेशमा रहेका नागरिक तथा बेजिल्ला मताधिकारका लागि आवश्यक पर्ने कानुनहरु परिमार्जन गर्न माग गरे।
उज्ज्यालो नेपालका नेता श्री गुरुङले उज्ज्वल थापाले विगत १०-१२ वर्षअगाडि देखि नै नोट चल्ने भोट नचल्ने अभियानको स्मरण गर्दै फाउन्डेसनले यो मुद्दालाई पुन: बहसमा ल्याएकोमा धन्यवाद दिए। उनले यो विषयलाई सार्थक बनाउन सबै दलले हातेमालो गर्नुपर्नेमा जोड दिए।
प्रगतिशील लोकतान्त्रिक दलकी नेता मानुषी यमी भट्टराईले आर्थिक रुपमा अवसर खोज्दै विदेशमा पसिना बगाइरहेका युवालाई कानुनी रुपमा मात्र होइन, संरचनात्मक रुपमै यो राज्यले मतदानको अधिकारबाट वञ्चित गरेको दाबी गरिन्।
नेपाल जेन-जी फ्रन्टका प्रतिनिधि मनीष खनालले आजको युगमा युवाहरुलाई चुनाव र लोकतन्त्रप्रति आकर्षित गर्न पनि चुनावमा प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने माग गरे। प्रविधिको प्रभावकारी प्रयोबाट मात्र विदेशमा र बेजिल्लामा रहेका नागरिकको मताधिकार सुनिश्चित हुने उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुन लावतीले आई-भोटिङ र ई-भोटिङको पक्षमा पार्टीले पूर्ण रुपमा वकालत गरिरहेको बताए। उनले लोकतान्त्रिक प्रक्रियामालाई फराकिलो बनाउन तथा मतदान प्रक्रियामा व्यापक सहभागिताका लागि पनि विदेशमा रहेका तथा बेजिल्ला रहने नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखे।
वैदेशिक रोजगारीबाट फर्किएका सुरेन्द्र तामाङले विदेशमा रहेका श्रमिक मुलुकबाहिर भए पनि देश कसरी राम्रो हुन सक्छ भन्ने चिन्तामै रहेको बताए। उनीहरुलाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने पनि तामाङको भनाइ छ।
देशमा राजनीतिक दल, नागरिक समाज तथा जेन-जीहरुबीच उज्ज्वल थापा फाउन्डेसनले केही समयदेखि संवाद चलाइरहेको फाउन्डेसनकी अध्यक्ष एरिका अधिकारीले बताइन्। आजको संवाद शृंखला तेस्रो हो।