काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

एमाले महाधिवेशन

एघार वर्षअघि एक कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने भन्दै ‘कक्षा नदोहोर्‍याउने’ घोषणा गरेका ओली तेस्रोपटक एमालेको नेतृत्वमा

३ पुष २०८२
११औँ महाधिवेशनमा अध्यक्ष तथा महासचिवमा निर्वाचित भएपछि सपथ समारोहमा केपी शर्मा ओली र शंकर पोखरेल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

निर्धारित समयभन्दा एक वर्षअघि सकिएको एमालेको ११औँ महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष निर्वाचित गरेको छ। आज घोषित चुनावी परिणामअनुसार ओली एक हजार ६६३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत पाए।

एमाले पदाधिकारी र केन्द्रीय सदस्यहरूमा पनि ओली समूहको वर्चस्व देखिएको छ। अहिले निर्वाचित १९ पदाधिकारीमा ओलीनिकट १७ जना चुनिएका छन्। पोखरेल समूहबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा पनि अधिकांश ओली प्यानलका नेता निर्वाचित भएका छन्। चितनवनमा भएको १०औँ महाधिवेशनमा नेतृत्व चयनमा प्रतिस्पर्धा थिएन। तर, यसपटक त्यो उल्टियो। ३०१ केन्द्रीय कमिटी पनि चुनावबाट आए।

२०७१ मा भएको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनेबित्तिकै ओलीले आफू एक कार्यकाल मात्रै पार्टी अध्यक्ष रहने घोषणा गरेका थिए। आफू एउटै कक्षा दोहोर्‍याए पढ्ने विद्यार्थी नभएको उनले बताएका थिए।

महासचिवमा ओलीका विश्वास पात्र शंकर पोखरेल नै एक हजार २२८ मतका साथ दोहोरिएका छन्। उनीसँग प्रतिस्पर्धामा उत्रेका सुरेन्द्र पाण्डेले ९९९ मत ल्याए। पोखरेललाई १०औँ महाधिवेशनमा ओलीले महासचिव बनाएका थिए।

ओली र उनको समूहले यो महाधिवेशनमा जित हासिल गर्न पार्टीको विधान उल्टाउनेदेखि ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउनेसम्मको निर्णय गर्‍यो। त्यस्तै ओलीको आलोचना हुने भएपछि महाधिवेशनमा सैद्धान्तिक–वैचारिक छलफल नै भएन।

ओलीले आफ्नो वर्चस्व कायम गर्न सम्भव सबै हतकन्डा अपनाए। राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार ओलीले यो महाधिवेशन जिते पनि नैतिक रूपमा भने उनको हार भएको छ। श्रेष्ठ भन्छन्– “ओलीले आफ्नै लागि ७० वर्षे मापदण्ड हटाए, दुई कार्यकालको सीमा खारेज गरे, विधान महाधिवेशनको निर्णय उल्टाए। यी सबै गरेर अध्यक्ष जिते पनि नैतिक रूपमा ओलीको पराजय भएको छ।”

तेस्रोपटक एउटै कक्षा

२०७१ मा भएको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनेबित्तिकै ओलीले आफू एक कार्यकाल मात्रै पार्टी अध्यक्ष रहने घोषणा गरेका थिए। आफू एउटै कक्षा दोहोर्‍याए पढ्ने विद्यार्थी नभएको उनले बताएका थिए।

तर, मंसिर २०७९ मा भएको १०औँ महाधिवेशनमा उनी दोस्रोपटक अध्यक्ष भए। त्यतिबेला ओलीले पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरूको नामावली बन्द सत्रमा पढेर सुनाएका थिए। त्यसमा चित्त नुबुझाउनेहरूले प्रतिस्पर्धा गरेका थिए। त्यसबेला ओलीले एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा समाप्त पारेको भन्दै उनको चर्को आलोचना भएको थियो।

१०औँ महाधिवेशनमा ओलीले उपमहसचिव बनाएका विष्णु रिमाल उपमहासचिव मात्र होइन, केन्द्रीय सदस्यमा समेत पराजित भए। ओली चारपटक प्रधानमन्त्री हुँदा चारैपटक रिमाल नै प्रमुख सल्लाहकार थिए।

चितवन महाधिवेशनमा ओलीलाई भीम रावलले अध्यक्षमा चुनौती दिएका थिए। महाधिवेशनमा कसलाई मत दिनेभन्दा पनि कसलाई मत नदिने भनेर ओली समूहले चितवनमा सूची वितरण गरेको थियो।

जेन-जी आन्दोलनपछि भएको यो महाधिवेशन चितवनको भन्दा ओलीका लागि चुनौतीपूर्ण बन्यो। उनीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग समूह नै बनाएर प्रतिस्पर्धा गर्‍यो। तथापि यसपटक पनि ओली नै अध्यक्ष भए।

पछिल्लो दशकमा सत्ता र शक्तिको केन्द्रमा रहेका ओलीले जेन-जी आन्दोलनपछि दुवै गुमाएका छन्। एक वर्षअघि नै पार्टी महाधिवेशन गरेर उनले नेतृत्वमा आफूलाई अनुमोदन त गराएका छन्, तर उनका लागि यो पेचिलो हुनेछ। राजनीतिक विश्लेषक श्रेष्ठ भन्छन्– “व्यक्तिगत रूपमा ओलीकै स्वास्थ्य उनका लागि प्रतिकूल छ, पार्टीगत रूपमा चाहिँ एमाले विभाजित छ भने राष्ट्रिय राजनीति ओलीको अनुकूल छैन। त्यसैले यो कार्यकाल ओलीका लागि विगतमा भन्दा पेचिलो र चुनौतीपूर्ण छ।”

अध्यक्ष निर्वाचित भएपछि सपथ लिइरहेका केपी शर्मा ओली। तस्बिर : नेपाल फोटो लाइब्रेरी

यसपालि महाधिवेशनमा आफ्ना समूहका सदस्यलाई पद व्यवस्थापन गर्न ओलीले २० देखि २२ भदौमा भएको विधान महाधिवेशनको निर्णय उल्टाएका थिए। तैपनि यो महाधिवेशन ओलीनिकट नेताहरूकै लागि पेचिलो बन्यो। अध्यक्षमा ओलीले फराकिलो अन्तरले जिते पनि महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा नै देखियो। १०औँ महाधिवेशनमा ओलीले उपमहसचिव बनाएका विष्णु रिमाल उपमहासचिव मात्र होइन, केन्द्रीय सदस्यमा समेत पराजित भए। ओली चारपटक प्रधानमन्त्री हुँदा चारैपटक रिमाल नै प्रमुख सल्लाहकार थिए। पछिल्लो समय ओलीको राजनीतिक व्यवस्थापकको रूपमा रिमाल सक्रिय थिए।

यो महाधिवेशनको प्रतिनिधि छनोटमा देशभरिका करिब ५३ प्रतिशत एमाले सदस्य त सामेल नै भएनन्। एमालेका संगठित सदस्यको यो कदमलाई ओलीको पार्टी र सत्ता सञ्चालन शैलीप्रतिको मौन विद्रोह मानिएको छ।

एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि ओलीले उपाध्यक्ष मनोनीत गरेका उनका पुराना सारथि गुरुप्रसाद बराल यसपालि उपाध्यक्षसहित केन्द्रीय सदस्यमा पराजित भएका छन्। त्यस्तै ओलीनिकट अर्का नेता भानुभक्त ढकाल पनि नौ सचिवमध्ये सबैभन्दा कम मत एक हजार १०८ ल्याएर विजेता बने। “एमाले कार्यकर्ताले अध्यक्षमा ओलीलाई चुने पनि उनीनिकट नेतालाई मन नपराएको देखियो,” राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, “महासचिवमा सुरेन्द्र पाण्डेले हासिल गरेको मतले ओलीको शक्तिलाई चेक गर्न खोजेको देखिन्छ।”

हुन पनि यो महाधिवेशनको नतिजाले ओलीको एमालेभित्रको वर्चस्वलाई गम्भीर धक्का दिएको छ। चुनावी परिणामपछि ओलीसँग पराजित पोखरेलले अब एमाले सामूहिक नेतृत्वमा चल्ने, नियन्त्रण र सन्तुलनको सिद्धान्त पालना हुने अपेक्षा गरेका छन्। महाधिवेशनको नतिजा सार्वजनिक भएपछि पोखरेलले जारी गरेको विज्ञप्तिमा पार्टी सामूहिक नेतृत्व, विधि र पद्धति अनि लोकतान्त्रिक तरिकाले सञ्चालन हुने विश्वास गरिएको छ।

२०७१ साउनमा भएको एमालेको नवौँ महाधिवेशनले ओलीलाई पहिलोपटक अध्यक्ष निर्वाचित गरेको थियो। त्यो महाधिवेशनमा ओलीले पूर्वमहासचिव माधवकुमार नेपाललाई ४३ मतले पराजित गरेका थिए। अध्यक्षमा झिनो मतले निर्वाचित उनी त्यसपछि सचिवालयमै अल्पमतमा थिए। तर पार्टी प्रमुख र सरकार प्रमुख भएपछि बिस्तारै शक्ति केन्द्रिकृत गर्दै गए। दशौँ महाधिवेशनसम्ममा त उनी शक्तिशाली बने। तर यो महाधिवेशनले ओलीको एकछत्र वर्चस्वलाई धक्का दिएको छ।

यो महाधिवेशनको प्रतिनिधि छनोटमा देशभरिका करिब ५३ प्रतिशत एमाले सदस्य त सामेल नै भएनन्। एमालेका संगठित सदस्यको यो कदमलाई ओलीको पार्टी र सत्ता सञ्चालन शैलीप्रतिको मौन विद्रोह मानिएको छ। “यो महाधिवेशनपछि एमालेलाई एक ढिक्का बनाएर अघि बढाउने चुनौती ओलीजीलाई छ,” निर्वतमान उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, “देशमा चुनाव हुन लागेको छ त्यसमा पार्टीले कस्तो परिणाम ल्याउँछ। त्यसले एमालेभित्र धेरै कुरा निर्धारण गर्छ।”