एमाले महाधिवेशन
महासचिवमा केपी ओली पक्षका शंकर पोखरेल विजयी हुँदा ईश्वर पोखरेल पक्षका सुरेन्द्र पाण्डे पराजित भए
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी ओली ह्याट्रिकसहित अध्यक्षमा विजयी भएका छन्। ओलीसँगै एमाले पदाधिकारीमा १९ जना विजयी भएका छन्।
ओलीले १‚६६३ मत ल्याएर अध्यक्षमा ह्याट्रिक गरे। एमाले नेतृत्वमा ओलीको यो तेस्रो कार्यकाल हो। अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलले भने ५६३ मतमै चित्त बुझाए। एमालेको १९ पदाधिकारीमा पोखरेल पक्षका दुईजना मात्र विजयी भए भने बाँकी सबै ओली पक्षकै निर्वाचित भए। १९ पदाधिकारीमा पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए।
पाँच उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ (१‚७३७)‚ विष्णुप्रसाद पौडेल (१‚६७५)‚ रामबहादुर थापा (१‚५१६)‚ गोकर्ण विष्ट (१‚३६८) र रघुजी पन्त (१‚२५८) विजयी भए।
उपाध्यक्षमा प्रतिस्पर्धा गरे पनि पराजित भएका गुरुप्रसाद बराल (१‚१३७)‚ विन्दा पाण्डे (९२१)‚ परशुराम मेघी गुरुङ (४६१)‚ अरूण नेपाल (४३९)‚ टंकप्रसाद कार्की (३५८)‚ भीमप्रसाद आचार्य (२६५) मत प्राप्त गरे।
यसैगरी महासचिवमा ओली पक्षका शंकर पोखरेल विजयी हुँदा पोखरेल पक्षका सुरेन्द्र पाण्डे पराजित भए। पोखरेल यसअघि पनि सौरहामा सम्पन्न १०औँ महाधिवेशनबाट महासचिव पदमा निर्वाचित भएका थिए।
पोखरेलले १‚२२८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत मात्र पाए। पोखरेल र पाण्डेबीचको मतान्तर २२९ छ।
उपमहासचिव पदमा भने लेखराज भट्टले सबैभन्दा बढी मत पाएर विजयी भएका छन्। यस्तै रघुवीर महासेठ र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन्। अध्यक्ष केपी ओलीको सारथिका रूपमा परिचित विष्णु रिमाल भने उपमहासचिवमा पराजित भए।

निर्वाचनको अन्तिम परिणामअनुसार उपमहासचिवमा भट्टले १‚४५२ मत पाएका छन्। यस्तै महासेठले एक हजार ३६८ मत पाउँदा भट्टराईले एक हजार ३४८ मतसहित उपमहासचिवमा विजयी बने।
रिमालले एक हजार ९१ मत मात्र पाए। एमालेमा तीन उपमहासचिव हुने व्यवस्था छ। मतपरिणामअनुसार रिमाल चौथो बने अनुसार रिमाल पराजित भएका हुन्। यस्तै उपमहासचिवका प्रतिस्पर्धी आनन्दप्रसाद पोखरेलले ६३५ मत पाए भने वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरे।
नौजना सचिव पदमा ओलीको प्यानलै विजयी भएको छ। सचिवतर्फको नौ पदमा महेश बस्नेतले सर्वाधिक मत प्राप्त गरे। बस्नेतले १‚५४४ मत प्राप्त गरे। यसैगरी पद्माकुमारी अर्याल १‚५३० मत प्राप्त गर्दै सचिवमा निर्वाचित भइन्। छविलाल विश्वकर्माले १‚५०६, शेरधन राईले १‚५०३, हिक्मतकुमार कार्कीले १‚३३७, खगराज अधिकारीले १‚२३१, यामलाल कँडेलले १‚१८५ र राजन भट्टराईले १‚१८१ मत ल्याएर सचिवमा निर्वाचित भए।
एमाले महाधिवेशनमा २‚२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ प्रतिनिधि मतदानमा सहभागी भएनन्।