निबन्ध
शोलोखोवको कथाले कुनै पनि परिवर्तन पुरानो सत्तामा आश्रितहरूलाई तत्काल सहज र ग्राह्य हुँदैन भन्छ, नेपालमा पनि परिवर्तन स्विकार्न नसक्ने, पुरातन शक्ति र विचारकै घेरामा रमाउने भक्तहरूको बाहुल्य देखिन्छ।
रुसी साहित्यकार मिखाइल शोलोखोवको बहुचर्चित कथा छ, ‘गोठालो’। आख्यानप्रेमीहरूका निम्ति स्वादिष्ट रहेको कथा राजनीतिक सन्दर्भमा अर्थपूर्ण पनि छ। कथाको सार यस्तो छ–
‘एउटा गोठमा केही गोठाला बसोबास गरिरहेका हुन्छन्।
तत्कालीन रुसी साम्राज्यमा लामो समयदेखिको जार शासन अन्त्य भई सोभियत सत्ता स्थापना हुन्छ। परिवर्तनकामी सोचका गोठालाहरूले देशको राजनीतिक परिवर्तनलाई खुलेर स्वागत गर्न चाहन्छन्।
सोभियत सत्ता स्थापनाअघि उनीहरू बसेको गोठमा देवताहरूका तस्बिर राखिएका हुन्छन्। सोभियत सत्ता स्थापना भएपछि भने उनीहरूले देवताका तस्बिर हटाउँछन् र टाँग्छन्– अक्टोबर क्रान्तिका नायक लेनिनको तस्बिर। गोठभित्र देवताहरूका तस्बिर राखिनु जारकालीन सोच र पुरातन धार्मिक आस्थाको प्रतीक हो, र सत्ता परिवर्तनपछि गोठालाहरूले ती तस्बिर हटाएर लेनिनको तस्बिर टाँग्नु नयाँ विचारधारा, क्रान्ति र परिवर्तनको प्रतीक।
पुरानो सत्तामा आश्रित समुदायका मानिसहरूलाई गोठालाहरूले आफूखुसी अपनाएको त्यस्तो क्रियाकलाप कत्ति पनि स्वीकार्य हुँदैन। उनीहरूलाई लाग्छ, ‘यो पूरै बनावटी छ र सामाजिक नीति-नियमविरुद्धसमेत।’ प्रतिक्रियास्वरूप उनीहरूले विरोधका आवाज उठाउँछन्, मिहिन रूपले।
‘पुराना पुस्ताका निम्ति कुनै पनि परिवर्तन तत्काल सहज र ग्राह्य हुँदैन, तर नयाँ पुस्ता परिवर्तनका पक्षमा सदैव उभिइरहन्छ’, यो कथाको सन्देश यति नै हो भन्ने लाग्छ।
गोठालाहरूले आआफ्ना गोठबाट देवताका तस्बिर हटाएर लेनिनको तस्बिर टाँगेपछि गोठभित्र केही समस्या देखिन्छ। कुनै रोगव्याधिकै कारण हुनुपर्छ, केही बाछा मर्छन्। तर, प्राकृतिक घटनालाई पुरातन सोचमा अडिएका र पुरानो सत्तामा आश्रित मानिसहरूले अपव्याख्या गर्दै भन्छन्, ‘गोठबाट देवताका तस्बिर हटाइएका कारण यी बाछाहरू मरेका हुन्!’ नयाँ विचारलाई असफल ठहर्याउन उनीहरू अन्धविश्वासको सहारा लिन्छन्।
शोलोखोवले यस कथामार्फत धर्म र विचारधारा, अन्धविश्वास र चेतना, पुरानो र नयाँ पुस्ताबीचको संघर्षलाई सूक्ष्म ढंगले चित्रण गरेका छन्। कथाको सन्देश हो, ‘कुनै पनि क्रान्ति वा परिवर्तन पुरातन सोच, मानसिकता वा क्रियाकलापको बिँडो धानेर बसेका व्यक्तिहरूका लागि तत्काल स्वीकार्य हुँदैन।’
००
आजपर्यन्त हाम्रो समाज र यसको सांस्कृतिक चेतना शोलोखोवको कथा ‘गोठालो’ भन्दा पृथक् उभिन सकेको पाइँदैन। सन् १९६५ मा नोबेल पुरस्कारबाट सम्मानित यी स्रष्टाले यस कथामार्फत सोभियत संघ स्थापना भएपछिको प्रारम्भिक चरणका सामाजिक, राजनीतिक र धार्मिक द्वन्द्वलाई केन्द्रीय धारमा उभ्याएर तात्कालिक सोभियत समाजको नाभि छाम्ने ‘दुष्कर्म’ गरेका थिए।
अक्टोबर क्रान्तिको सफलतापछि भ्लादिमिर इल्यिच लेनिनको नेतृत्वमा सोभियत संघमा कम्युनिस्ट सत्ता स्थापना भयो। सोभियत सत्तारम्भलाई बीसौँ शताब्दीको अभूतपूर्व घटनामध्ये एक मानिन्छ, जसले विश्वको सत्ता-राजनीतिको मानचित्र पूरै बदलिदियो। सोभियत संघमा कम्युनिस्ट पार्टीको सत्ता स्थापना भएपछि अनेक दृश्य-परिदृश्य उद्घाटित हुँदै गए। किनभने, एक सार्वभौमसत्ता सम्पन्न मुलुकमा सल्किएको परिवर्तनरूपी झिल्कोले हरेक क्षेत्र, तह, तप्कालाई घनीभूत रूपमा स्पर्श गर्नु स्वाभाविकै थियो। तर, तात्कालिक समयमा व्यवस्था परिवर्तनको झिल्कोले राजधानी मस्कोलगायत मुख्य सहरहरू मात्र प्रभावित बने, ग्रामीण बस्तीहरूलाई छोएन।
ग्रामीण इलाकाहरूमा पुरानो सत्ता र विचारको प्रभावमा रहेका व्यक्ति र समुदायहरूले भने तात्कालिक परिवर्तनलाई सहज रूपमा लिएनन्, स्विकारेनन्। तिनीहरूले परिवर्तनरूपी ‘अर्केस्ट्रा’ मा नयाँ आलाप भर्न धेरै वर्ष व्यतीत गरे। ‘गोठालो’ यिनै सन्दर्भमा उभिएर लेखिएको कथा हो। तात्कालिक रुसको ग्रामीण भेगमा क्रियाशील पूर्ववर्ती पुस्ताका सामन्त वर्ग र नयाँ पुस्ताका गोठालाहरूबीच चर्किएको अन्तर्विरोधलाई पक्रिँदै कथावस्तु गतिशील छ। ‘पुराना पुस्ताका निम्ति कुनै पनि परिवर्तन तत्काल सहज र ग्राह्य हुँदैन, तर नयाँ पुस्ता परिवर्तनका पक्षमा सदैव उभिइरहन्छ’, यो कथाको सन्देश यति नै हो भन्ने लाग्छ।
००
अब एकछिन ‘गोठाला’ हरूका चरित्रतिर दृष्टिबिन्दु अर्पण गरौँ।
बहुसंख्यक ‘गोठाला’ हरू स्वभावैले हठी देखिन्छन्। गुण, स्वभाव एवं शैलीगत आधारमा उनीहरू पूर्ववर्ती समयदेखि वा भर्खर भर्खरै मात्र आफूले आधिपत्य जमाएका ‘गोठ’ बाट विमुख हुन चाहँदैनन्। उनीहरू जीवनपर्यन्त ‘गोठ’ मा नै राइँदाइँ गर्न चाहन्छन्। कुनै मोटाघाटा जीवको शरीरमा जब्बर प्रवृत्तिका किर्ना टाँसिएझैँ उनीहरू गोठको अवयवमा टाँसिइरहन चाहन्छन्। अतः तिनीहरू आफूभित्र रहेको पिपासु चरित्रलाई अझै आयतन दिलाउने कसरतमा बित्ताभर पछि हट्न चाहँदैनन्।
कुकुरहरूका आनीबानी थाहा पाएपछि अचेल मलाई कुकुरहरूलाई गाली गर्न मनै लाग्न छाड्यो।
गोठ छाड्दा उनीहरू यी कुराबाट वञ्चित हुन्छन्, सायद!
१. उनीहरूले वर्षौंदेखि आफू-अधीनस्थ गाईबस्तु, भेडा, च्यांग्रा वा चरण-संसारमा रमाउने पशुहरूलाई आफूखुसी चराउन पाउँदैनन्। कुनै खर्क, चरन, पाटन, मौजा वा मैदानी फाँटहरूमा…।
२. तिनै गाईबस्तुलाई आफूले चाहेजस्तो आयतनरूपी दाम्लोले बाँधेर स्वतन्त्रताबाट टाढा राख्न सक्दैनन्। न त तिनीहरूलाई ‘पगाहा’ को परिधिमा नै समेट्न सकिन्छ।
३. गाईबस्तुहरूलाई ‘त्यता नजा’, ‘यता आइज’, ‘फर्की’ भनेर आफ्नो आदेशअनुसार चलायमान तुल्याउन सक्दैनन्।
४. आफूले हरेक दिन खटाइखटाई दिने गरेका घाँसपात, दाना वा अन्नपानीहरू आफ्नो इच्छाअनुरूप दिनै पाइँदैन।
५. ती गाईबस्तुहरूबाट प्राप्त गोरसमा आफूखुसी औँलाहरू चलायमान तुल्याउन वा तिनै औँलाका माध्यमबाट जिब्रो मिठ्याउन पाइँदैन।
६. न त आफूले अपेक्षा गरेको समयमा दूध, दही, नौनी, घिउ, खुवा, कुराउनी, चिज, पनिर वा अरू दुग्धजन्य पदार्थमा डुबुल्की मार्न नै सकिन्छ।
७. न आफूले चाहेजसरी तर मार्न सकिन्छ, न त अरूलाई तर मार्न दिने अवसर नै सिर्जना गर्न सकिन्छ।
यस्ता अनगिन्ती अवसरबाट वञ्चित हुन सकिन्छ, समृद्धशाली गोठ-गोठादिबाट विस्थापित हुँदा। धेरै पीडादायी हुन्छ, यथार्थ रूपमा। सोही कारण लाग्छ– गोठालाहरूले गोठ छाड्न आनाकानी गर्छन्, गरिरहेका छन् र गरिरहन्छन् सदैव।
००
भन्नै पर्दैन– अधिकांश ‘गोठाला’ हरू ‘कुकुर’ पाल्न इच्छुक देखिन्छन्। बौद्धिकदेखि निम्न स्तरका बफादार कुकुरहरू। निःसन्देह, सबै पाल्तु कुकुरमा ‘मालिकभक्ति’ को भाव प्रचुर हुन्छ। कोही-कसैले आफ्ना मालिकप्रति सन्देहपूर्ण नजर राखे, मालिकलाई झम्टिए वा गोठ वरपर कुनै शंकालु जीवजन्तुको आगमन भए तिनीहरूविरुद्ध प्रतिरोध गर्न ‘कुकुर’ हरू सदैव तम्तयार रहन्छन्। यो नै अधिकांश कुकुरको ‘काम’ हो।
कुकुरहरूको आनीबानी थाहा पाएपछि अचेल मलाई कुकुरहरूलाई गाली गर्न मनै लाग्न छाड्यो। विदितै छ, मालिकहरूले कुकुरहरू पाल्नुको पृष्ठभूमिमा सोख मात्र जोडिएका हुँदैनन्, उनीहरूले आफ्ना कमजोर दुर्ग (कथित वैचारिक वा अरू अरू….) लाई अझ दरिला एवं मजबुत तुल्याउने हेतुले कुकुरहरू पाल्ने गर्दछन्। अधिकांश कुकुर मालिकहरूका वैचारिक धरातललाई धरामय तुल्याउने अद्भुत चारित्रिक पात्रहरूसमेत हुन्।
कुकुर पाल्दाका निम्नांकित फाइदाहरूसमेत छन्, जसलाई हामीले सधैँ नजरअन्दाज गर्दै आएका छौँ।
१. बौद्धिक तहका ‘कुकुर’ हरूले गोठालाहरूका भजनकीर्तन, आराधना, स्तुतिगायन, स्तोत्रलगायत नृत्य-नृत्यादिहरूमा बिहान सबेरैदेखि राति अबेरसम्म भुक्ने काम गर्छन्। अहोरात्र। विनास्वार्थ।
२. केही इमानदार प्रकृति एवं प्रवृत्तिका श्रेणीबद्ध कुकुरहरू भने बस! गोठालाहरूका अघिपछि टहलिन्छन् र वन-उपवनहरूमा रमाउँदाखेरि शरीरका अंगादिहरूमा टाँसिएका कुरो, अर्थुङ्गे, काउसोलगायत जंगली तत्त्वहरूले व्याप्त पुच्छर हल्लाएर अपार मालिकभक्ति प्रदर्शन गर्छन्।
सबै जाति-प्रजातिका फिलाहरूको निरीक्षणपछि एक जिज्ञासुको प्रश्न तेर्सियो, ‘प्रिय, गोठालाज्यूहरू, तपाईंहरूले किन फिलोसफीलाई फिलासफी बनाउनुभयो?’
३. तल्लो तहका कुकुरहरू भने ‘गोठ’ को निगरानीमा नै व्यस्त हुन्छन्। दिनानुदिन। ‘गोठ’ को दिशा पछ्याएर कुनै भुसुना, छिचिमिरा वा कीराफट्यांग्रा वा सलहहरू ओइरिए भने पनि तिनीहरूलाई झम्टिएर आफ्नो कर्तव्यपरायण-भावमा अद्वितीय हुन चाहन्छन्। स्मरण रहोस्, बहुसंख्यक कुकुरहरू ‘कर्तव्यपरायण’ हुन्छन्, ‘कपटपरायण’ हुँदैनन् बिल्कुलै। नभए, युधिष्ठिरलगायत पञ्च पाण्डव आफ्नो सत्ता र शक्तिद्वारा शालीन आखिरी दिनहरूमा हिमालय पर्वत नाघेर स्वर्ग जाने बेला एउटा नाथे ‘कुकुर’ लाई लिएर जाँदैनथे होलान्!
४. केही त्यस्ता कुकुरहरू पनि ‘गोठ’ वरपर हुन्छन्। तिनीहरू सुतीसुती बस्छन् र गोठालाहरूका नजरमा अति नै ‘प्रिय कुकुर’ बन्छन्। अचेल त्यस्ता ‘टाइप’ का ‘कुकुर’ हरूका बिगबिगी देखिन्छ।
००
जब हाम्रा ‘महान्’ गोठालाहरूले ‘फिलोसफी’ लाई पूर्णतः ‘फिलासफी’ बनाए, त्यही समय, क्षण र विन्दुरेखाबाट उनीहरूप्रति सबैको मोहभंगको तह चुलिँदै गयो। उनीहरूलाई ‘फिलोसफी’ होइन, ‘फिलासफी’ मन पर्दै गयो। दाँत र आँत दुवैले ‘फिलासफी’ को माग बढाउँदै लगे।
राँगाको मोटो फिला, बोका-खसीको समृद्धशाली फिला, बँदेलको स्वादिलो फिला, च्यांग्रा-भेडाको बेग्लै प्रकारको फिला, कुखुराको निम्सरो फिला, अनेक चराचुरुंगीका फिला। अनेक जीव-जीवादिका फिला। उनीहरूले ठाने, ‘फिलासफीको स्वादमा रमाउन पाए भाँडमै जाओस् फिलोसफी!’
सबै जाति-प्रजातिका फिलाहरूको निरीक्षणपछि एक जिज्ञासुको प्रश्न तेर्सियो, ‘प्रिय गोठालाज्यूहरू, तपाईंहरूले किन फिलोसफीलाई फिलासफी बनाउनुभयो?’
अग्रपंक्तिमा विराजमान एक टाठोबाठो गोठालोले भने, ‘अब फिलोसफीमा कुनै स्वाद रहेन, कुनै समय हामी तिनै स्वादका पारखी थियौँ। के मानिसहरू आफ्नो जिन्दगीमा सधैँ एउटै स्वादको पारख वरपर झुम्न चाहन्छन् र?’
उनले फेरि थपे, ‘यो गोठको जिम्मेवारी लिँदा मैले फिलोसफीलाई आधार बनाएको थिएँ, तर गोठ फिलोसफीले मात्र नचल्ने रहेछ भन्ने तत्त्वज्ञान प्राप्त हुँदै गयो मभित्र। किनभने, मेरा दरबार वरपर तैनाथ असंख्यौँ नन्दीभृंगीहरूले पनि फिलासफीकै स्वाद मन पराउन थाले।’ उनले मतिर मन्द तर कुटिल मुस्कान पेस गर्दै भने, ‘महोदय! के तपाईं पनि फिलासफीको स्वाद लिन चाहनुहुन्छ?’
हामीकहाँ ‘गोठालाहरू’ मा अन्तर्निहित पात्रहरू अझै क्रियाशील छन् र उनीहरूको क्रियाशीलता कुन समयसम्म तन्किन्छ भन्ने कुनै समयरेखा तोकिएको छैन।
म पूरै उत्सुक देखिएँ र सोधेँ, ‘कुन फिलासफी छ, तपाईंसँग ? मलाई तृप्त तुल्याउने हैसियतको…?’
ती गोठालाले भने, ‘आज भर्खरै मात्र हामीले एउटा भेडा लडाएका छौँ, भेडा लडाउन धेरै सजिलो छ। तिनीहरूले ‘म्या-म्या’ का भाषा मात्र बुझ्छन्। तपाईं त्यही भेडाको फिला लिन चाहनुहुन्छ भने म भुंग्रोमा बार्बक्यु गर्न लगाउँछु। भेडाको बार्बक्यु धेरै टेस्टी हुन्छ, अहिलेसम्म खानुभएको छ तपाईंले?’
म मौन रहेँ। मेरो मौनतालाई पूरै बेवास्ता गर्दै ती गोठाला भेडाको फिला सेकाउनतिर निमग्न रहे, जसरी कुनै कालखण्डमा आफूलाई ‘अद्वितीय शासक’ ठान्नेहरूले मनुष्यका मन-मन्थनलाई पूरै सेकाएर आफूले निर्माण गर्न चाहेका महत्त्वाकांक्षाका करोडौँ भेड-गिदीहरूलाई अझ समृद्धशाली तुल्याउन चाहन्थे र त्यसलाई शासकीय स्वरूप दिन चाहन्थे।
मैले गोठालाहरूबाट सिकेको मौलिक ज्ञान के थियो भने, ‘फिलासफीमा जति बेजोड ज्ञान छ, स्वाद छ, अरू ‘सफी’ हरूमा पाइँदैनन्, कदापि।’
००
फर्किऔँ अब शोलोखोवकै कथातिर-
वर्तमान नेपाली समाज, राजनीति, सांस्कृतिक आवहवालगायतलाई नियाल्दा शोलोखोवको कथा अझै सान्दर्भिक हुँदै गएको प्रतीत हुन्छ। हामीकहाँ ‘गोठालाहरू’ मा अन्तर्निहित पात्रहरू अझै क्रियाशील छन् र उनीहरूको क्रियाशीलता कुन समयसम्म तन्किन्छ भन्ने कुनै समयरेखा तोकिएको छैन।
हामीकहाँ आलोचनात्मक चेतको मुहान क्रमशः सुक्दै गएको छ। सुक्दै गएको मुहानलाई रसमय बनाउन हामीसँग के त्यस्ता कुनै उपकरण छन्?
तिनीहरूमध्ये कोही पुरातन सोच-चिन्तनको नाभि वरपर घुमिरहेका छन्। कोही चाहिँ नाभिबाट निस्किएर परिवर्तनका विशाल गोरेटामा आफूलाई यात्रारत तुल्याउन क्रियाशील देखिएका छन्। यस्तो द्वन्द्वरूपी शृंखलाको उद्घाटन आज मात्र भएको थिएन। परापूर्वकालदेखि नै परिवर्तनकामी र यथास्थितिवादी शक्तिबीच तन्किएको संघर्षरेखा अझैसम्म मेटिएको छैन।
शोलोखोवको ‘गोठालो’ कथाको भावभूमिजस्तै हाम्रो समाज पक्कै पनि विभाजित छ। कोही कसैले आवाज उठाइरहेका छन्, ‘अब पुराना गोठालाहरूबाट गोठ सञ्चालन हुन सक्दैन, नयाँ गोठाला राख्नुपर्छ।’
कोही कसैले भनिरहेका छन्, ‘नयाँ गोठालाहरूमा गोठ सञ्चालन गर्ने खुबी हुँदैन, त्यही भएर पुरानै गोठालाहरूलाई छाडिदिनुपर्छ।’
अन्तिममा, केही प्रश्न-
१. वर्षौंदेखि एउटै गोठमा बसेकाहरूले ‘गोठ’ को भविष्यप्रति कति सोचे?
२. तिनीहरूले आफ्नो गोठलाई सुधार्ने दिशामा कति प्रयत्न गरे?
३. ती गोठालाहरूले आफ्नो गोठलाई भताभुंग पारेर छाड्दा उनीहरूमा कुनै पश्चात्तापबोध वा ग्लानिका अंश बचेका थिए वा थिएनन्?
मैले त हिम्मतपूर्वक यति प्रश्न उठाएँ। तथापि, हामीकहाँ आलोचनात्मक चेतको मुहान क्रमशः सुक्दै गएको छ। सुक्दै गएको मुहानलाई रसमय बनाउन हामीसँग के त्यस्ता कुनै उपकरण छन्? यस्ता प्रश्नका समुचित निरुपण नभई गोठालो फेर्दा तिनै प्रसंगले हामीलाई सम्झाउँछन् र झस्काउँछन्, के कुनै रोगव्याधिको सिकार नभई देउताको तस्बिर हटाएकै कारण बाछाहरू मर्छन् र?