काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
अ+
अ-

काठमाडौँ। पर्सा प्रहरीले दाल फ्याक्ट्रीबाट ठूलो परिमाणमा सुपारी बरामद गरेको छ। वीरगन्ज महानगरपालिका २‚ बाइपास रोडमा रहेको दाल फ्याक्ट्रीमा छापा मारी प्रहरीले सुपारी बरामद गरेको हो।

पर्सा प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार दाल फ्याक्ट्रीबाट ना.७ख ७४२० र ना.४ख ६८३२ नम्बरको टेलरबाट १८०० बोरा सुपारी बरामद गरिएको हो। पाठकका अनुसार उक्त सुपारीको बजार मूल्य चार करोड ७७ लाख ४० हजार रुपैयाँ छ।

पाठकका अनुसार उक्त सुपारी व्यापारी निशान्त रोनावतको फ्याक्ट्रीमा टेलरबाट अनलोड भइरहेको थियो। पाठकका अनुसार सुपारी दाल फ्याक्ट्रीबाट महोत्तरीको बर्दिबास पठाउन लागिएको थियो। उक्त सुपारी लोड गर्न तयारी अवस्थामा राखिएको अर्को ट्रकसमेत नियन्त्रणमा लिइएको पाठकले बताए।

उनका अनुसार ना.७ख ७४२० नम्बरको टेलरबाट सुपारी अनलोड भइरहेको थियो भने ना.४ख ६८३२ नम्बरको टेलरबाट सुपारी अनलोड गर्ने तयारी भइरहेको थियो।

यसक्रममा ती दुवै टेलर ट्रकका चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका २० का ४१ वर्षीय रामभरोस महरा र बारा जितपुर उपमहानगरपालिका १९ का ५१ वर्षीय रामप्रसाद यादव छन्।

“ठूलो परिमाणमा सुपारी तस्करी भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक सुदीपराज पाठकको नेतृत्वमा टोली खटिएको थियो‚” पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले भने‚ “टोली खटिँदा दाल फ्याक्ट्रीबाट सुपारी अनलोड गरिरहेको र अनलोड गर्ने तयारी हुँदै गर्दा टेलर नियन्त्रणमा लिइएको हो।”

बरामद सुपारी कहाँबाट ल्याइएको भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ। बरामद सुपारी‚ टेलर र पक्राउ परेका चालकलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ। “तस्करीविरुद्ध आक्रामक कारबाही भइरहेको छ‚” एसपी पाठकले भने‚ “अन्य तस्करीका सूचना संकलन तथा विश्लेषण भइरहेको छ‚ तस्करी नियन्त्रणमा हामीले कुनै छुट दिने छैनौँ। यो सुपारी तस्करी गर्ने समूहबारे अनुसन्धान भइरहेको छ।”