काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
अ+
अ-

ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण अपरिहार्य रहेको बताएका छन्। उनले कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधारमा लगानी बढाउन सके रोजगारी सिर्जना, आय वृद्धि र उत्पादन विस्तार हुने बताए।

गोरखापत्र संस्थानले ललितपुरमा बिहीबार आयोजना गरेको ‘दृढतासहित पुनरुत्थान : गोरखापत्र विमर्श’ कार्यक्रमको उद्घाटन समारोहमा यादवले हालैको ‘जेन-जी’ पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको उल्लेख गर्दै पारदर्शिता, सुशासन, भ्रष्टाचारमुक्त समाज र रोजगारीका अवसर सुनिश्चित गर्न निष्कर्षसहितको आर्थिक बहसको आवश्यकतामा जोड दिएका हुन्।

उनले अन्तरिम सरकारको निर्वाचन प्राथमिकतासँगै आर्थिक विकासलाई पनि समान महत्त्व दिनुपर्ने चुनौती रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उपराष्ट्रपति यादवले गोरखापत्र संस्थानले एक शताब्दीभन्दा बढी समयदेखि सत्य, विश्वसनीय सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको उल्लेख गर्दै ४६ वटा राष्ट्रिय भाषामा सामग्री प्रकाशनमार्फत समावेशी समाज निर्माण र राष्ट्रिय एकता सुदृढ बनाउन संस्थानको योगदान प्रशंसनीय रहेको बताए।

उनले डिजिटल युगमा पत्रकारिताले तथ्यपरकता र विश्वसनीयता कायम राख्दै अभिलेखीकरणीय पत्रकारिताको अभ्यासमार्फत भविष्यका पुस्ताका लागि अमूल्य सम्पदा निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। गोरखापत्रलाई आधुनिक प्रविधिसँग सुसंगत बनाउनुपर्नेमा यादवको जोड छ। उनले पत्रकारिताले पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने निगरानी भूमिका खेल्नुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन, नीति स्पष्टता तथा लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुर्‍याउनुपर्ने धारणा राखे।

गोरखापत्र दैनिक १२५औँ वर्ष प्रवेश गरेको तथा ‘दी राइजिङ नेपाल’ ६१औँ वर्ष पुगेको अवसरमा उपराष्ट्रपतिले संस्थानलाई बधाई दिँदै, आर्थिक बहसमा सरकारका उच्च अधिकारी, नीति-निर्माता, उद्योगी-व्यवसायी, विज्ञ तथा सञ्चारकर्मीको सहभागिता प्रशंसनीय रहेको बताए।