काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

राजनीति

क्रियाशील सदस्यताको सिरियल नम्बरसम्बन्धी नयाँ विवादले पुस मसान्तमा नहुने भयो कांग्रेस महाधिवेशन

४ पुष २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
अ+
अ-

कांग्रेसको १५ औँ महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात् २६ देखि २८ पुसमा नहुने भएको छ। क्रियाशील सदस्यता वितरणमा नयाँ विवाद झिकिएकोले महाधिवेशन पछि सर्ने भएको छ।

१५ मंसिरमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले २६ देखि २८ पुससम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही बैठकले महाधिवेशनको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो। तर, त्यस अनुसार काम नहुँदा महाधिवेशन अनिश्चित बनेको हो।

कार्यतालिकाअनुसार २० मंसिरभित्र पार्टीको केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गर्नुपर्ने र २४ मंसिरभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउनुपर्ने थियो। त्यसरी पठाइएका करिब चार लाख नयाँ क्रियाशील सदस्यता फारममा सिरियल नम्बर उल्लेख नभएपछि विवाद उत्पन्न भएको छ। कांग्रेस नेता डा.शेखर कोइरालाको समूह र संस्थापन समूहका केही नेताले सिरियल नम्बरबिनाका फारम फिर्ता गरी सिरियल नम्बरसहितका फारम पठाउन माग गरेका छन्।

कांग्रेस महामन्त्री गगनकुमार थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर उल्लेख नभएका फारम तल्लो तहमा पठाएको थियो। थापा भने पहिला पठाइएका फारममै केन्द्रबाट सिरियल नम्बर ताकेर तिनै फारम भराउनुपर्ने पक्षमा थिए। तर कोइरालाले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सिरियल नम्बरबिनाका फारम भराएर महाधिवेशन गर्न नहुने राखेपछि देउवाले महामन्त्री थापालाई सिरियल नम्बरबिनाका फारम रद्द गरेर नयाँ फारम पठाउन निर्देशन दिएका छन्।

देउवाको निर्देशनपछि २ पुसमा मात्र नयाँ फारम पठाइएको छ। अहिले पठाएका नयाँ फारम भर्ने र नवीकरण गर्ने कामले महाधिवेशनको कार्यतालिका प्रभावित हुनेछ।

महामन्त्री थापा नेतृत्वको समिति चाँडो क्रियाशील सदस्यता टुंग्याउन लागेको थापाका स्वकीय सचिव शंकर कुइँकेल बताउँछन्। उनी भन्छन्, “सिरियल नम्बर भएका फारम तल्लो तहमा पठाइएपछि द्रुत गतिमा काम भइरहेको छ। महाधिवेशन सरे पनि केही दिन मात्र पर सर्ने हुनसक्छ।”

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार २९ मंसिरभित्र वडा समितिका बैठक बस्ने, फारम भराउने र त्यसरी भरिएका फारमलाई सूचीकरण गर्ने, बैठक बसेर निर्णय गरी ती फारम र सूचीसहित पालिका कार्यसमितिलाई बुझाउनुपर्ने थियो। त्यस्तै मंसिर मसान्तभित्र विदेशस्थित कांग्रेसको संगठन नेपाली जनसम्पर्क समितिले नवीकरण र नयाँ वितरणको काम सक्नुपर्ने तालिका थियो। त्यस्तै २ पुसभित्र पालिका कार्यसमितिको बैठक बसी निर्णय, फारम र सूचीसहित प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई पठाउनुपर्ने थियो।

त्यस्तै ४ पुसभित्र प्रदेशसभा क्षेत्रीय कार्यसमितिले यी काम सकेर क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिलाई बुझाउनुपर्ने थियो।

त्यसपछि मात्र ५ पुसभित्र केन्द्रले सबैतिरबाट आएका नामावली स्वीकृत गर्ने कार्यसूची थियो। तर क्रियाशील सदस्यताको वितरण र नवीकरणको काम सुरुमै रोकिँदा गाउँ, वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा स्तरीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका प्रभावित भएको छ। कांग्रेसमा तल्लो तहका अधिवेशनबिना केन्द्रीय महाधिवेशन सम्भव छैन। कांग्रेसका केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा तोकिएको मितिमा केन्द्रीय महाधिवेशन अब सम्भव नहुने बताउँछन्। भन्छन्, “क्रियाशील सदस्यताको प्रक्रिया भर्खरै मात्र सुरु भएकाले २६–२८ पुसमा महाधिवेशन हुँदैन।”

अब महाधिवेशन कहिले हुन्छ भन्ने पनि निश्चित छैन। महाधिवेशनको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले शनिबार आफ्नो निवासमा नेताहरूलाई बोलाएका छन्। सकेसम्म चाँडो गर्ने कोसिस भइरहेको बताउँदै केन्द्रीय सदस्य विश्वकर्मा भन्छन्, “कति लम्बिन्छ, कुन मितिमा हुन्छ भन्ने चाहिं निश्चित भएको छैन। तर चुनावअघि नै महाधिवेशन हुन्छ।”

२०६७ मा सम्पन्न १२औँ महाधिवेशनदेखि उत्पन्न क्रियाशील सदस्यता विवाद हरेक महाधिवेशनमा बल्झिन्छ। कांग्रेसमा क्रियाशील सदस्यता प्राप्त गर्ने प्रक्रिया लम्बेतान र झन्झटिलो छ। विगतमा पनि झन्झटिलो प्रक्रियामा अल्झाएर संस्थापनविरोधी गुटकालाई सदस्यता दिन रोक्ने गरिएको थियो। यसपटक भने यो विवाद साम्य पार्ने उद्देश्यले लचिलो प्रक्रिया अपनाइएको थियो। तर यसपालि पनि क्रियाशील सदस्यताको नयाँ विवाद झिकिएको छ।