काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

४ पुष २०८२
अ+
अ-

काठमाडौँ। एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २ हजार डलर (करिब २ लाख ८८ हजार) जरिबाना गरेको छ।

एएफसीको अनुशासन तथा इथिक्स कमिटीले एएफसी एसियन कप छनोटको अन्तिम चरणअन्तर्गत मलेसियाविरुद्धको खेलमा नियम उल्लंघन गरेको भन्दै एन्फालाई उक्त जरिबाना तिराएको हो।

नोभेम्बर १८ मा भएको उक्त खेलमा फैसल हमिमको निर्णायक गोलसँगै १० खेलाडीमा सीमित नेपाल १–० ले पराजित भएको थियो। तर, नेपाली टोली पहिलो हाफको सुरुआतमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड मैदान छिर्न ढिलाइ गरेको कमिटीले ठहर गरेको छ। कमिटीको गत १५ डिसेम्बरको बैठकले उक्त ढिलाइ हुनुमा नेपाली अफिसियलाई दोषी देखाउँदै प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ अनुसार कारबाही गरेको हो।

‘एन्फालाई एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन गरेकोमा २ हजार अमेरिकी डलर जरिबाना तिर्न आदेश दिइएको छ,’निर्णयमा भनिएको छ।

एएफसीका अनुसार यो जरिबाना एन्फाले ३० दिनभित्र तिर्नुपर्नेछ। यस खेलअगाबै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको थियोर समूह ‘एफ’ को खेलमा नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा छ। अब नेपालले अन्तिम खेल मार्चमा लाओससँग खेल्नेछ।

List-of-the-AFC-DEC-Decision-15-December-2025-1766120282