काठमाडौँ। आईसीटी अवार्डको १०औँ संस्करणको ग्रान्डफिनाले सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रविधिमार्फत पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका छन्।
कार्यक्रममा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिने संयोजक राजन लम्सालले जानकारी दिएका छन्। उनका अनुसार फिनालेमा सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट संस्था, उद्यम, नवप्रवर्तनकर्ता र व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले नेपालभित्र १६ र एक अन्तर्राष्ट्रिय गरी १७ विधामा अवार्ड प्रदान गरिनेछ।
यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रोभिन्सी स्टार्टअप आईसीटी रिकग्निसन २०२५ बाट सम्मान गरिनेछ। कार्यक्रममा साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिनेछ।
दशौँ संस्करणको आईसीटी अवार्ड छनोटका लागि १४ जना स्वदेशी र चार विदेशी विज्ञ जुरी समिति र १५ जनाको सल्लाहकार समिति गठन गरिएको थियो। यसवर्ष विभिन्न १५ विधा र रिकग्निसनमा खुला गरिएको अनलाइन नोमिनेसनमा ७५० भन्दा बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ।
ग्रान्डफिनाले अगाडि काठमाडौँमा दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट, ग्रान्ड जुरी तथा स्पिड डेटिङ सेसन, ट्रेनिङ, मेन्टरिङ सेसन, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रक्रियाहरू सञ्चालन गरिएको थियो।
अवार्ड छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्डका संयोजक राजन लम्सालले बताए। आईसीटी अवार्ड पुरस्कार वितरण समारोह मात्र नभएर नभएर डिजिटल रूपान्तरण र इकोसिस्टमको सारथि भएको उनको भनाइ छ।