काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

४ पुष २०८२
अ+
अ-

अमेरिका । इन्डोनेसियाले जुलाईमा घोषणा गरिएको व्यापार सम्झौताको विवरणलाई अन्तिम रूप दिन शीर्ष वित्तमन्त्रीलाई संयुक्त राज्य अमेरिकामा पठाइएको मन्त्रालयका एक प्रवक्ताले बिहीबार बताएका छन् ।

वासिङ्टनले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रले सामना गर्नु परेको करलाई ३२ प्रतिशतबाट घटाएर १९ प्रतिशत कायम गर्ने सहमती गरेको छ ।

जुलाईको घोषणापछि सम्झौताको विवरणमा छलफल जारी छ, जकार्ताले कच्चा पाम तेलसहित आफ्ना केही निर्यात उत्पादनहरूमा कर छुटको लागि दबाब दिएको छ ।

“इन्डोनेसियाको वार्ता टोलीको नेतृत्व गरेका वित्तमन्त्री ऐरलाङ्गा हार्टार्टो हाल अमेरिका जान लागेका छन्,” इन्डोनेसियाका प्रवक्ता हार्यो लिमान्सेटोले एएफपीसँग बताए ।

“ऐरलाङ्गाले अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर)का अधिकारीहरूसँग जुलाईको सम्झौतालाई अन्तिम रूप दिन इन्डोनेसियाको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ,” प्रवक्ताले भने ।

वासिङटनले कफीजस्ता कृषि उत्पादनमा कर घटाएको उल्लेख गर्दै इण्डोनेसियाको प्रमुख निर्यातमध्ये एक पाम तेलबारे वार्ता गर्ने लक्ष्य लिएको ऐरलाङ्गाले यसअघि एएफपीलाई बताएका थिए ।

उनले भने, “कार्यकारी आदेशले पहिले नै कफी, कोकाओ, र यस्तैअन्य वस्तुहरूको करमा छूट समावेश गरेको छ । केवल पाम तेल र यसबाट बनेका अन्य सामग्री मात्र करको नयाँ दायरामा आउन बाँकी छ ।”

जुलाईमा घोषणा गरिएको फ्रेमवर्क सम्झौता अनुसार इन्डोनेसियाले अमेरिकाबाट ऊर्जा, कृषि र विमान आयात बढाउन अर्बौं खर्च गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

“यो सम्झौतामा प्रबोवो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष हस्ताक्षर गर्ने अपेक्षा गरिएको इन्डोनेसियाली सञ्चारमाध्यमले ऐरलाङ्गालाई उद्धृत गरी लेखेका छन् ।

यूएसटीआरको तथ्याङ्कले सन् २०२४ मा इन्डोनेसियासँग वाशिङ्गटनको वस्तु व्यापार घाटा १७.९ अर्ब डलर रहेको देखाएको छ र अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले बढी हो।