जनकपुर। मधेस प्रदेशको सभामुखको निर्वाचन तालिका सार्वजनिक भएको छ।
प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ अनुसार उपसभामुख बबिताकुमारी राउत ईशरले सभामुख निर्वाचनको मिति र समय निर्धारण गरेकी छन्। प्रदेश सभा सचिव वासु कोइरालाले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार सभामुख पदमा उम्मेदवारी दिन चाहने प्रदेश सभा सदस्यले ५ पुसको बिहान ११ देखि दिउँसो ३ बजेसम्म प्रस्ताव र समर्थनसहित उम्मेदवारी दर्ता गराउन सक्नेछन्।
दर्ता भएका उम्मेदवारीको सूची सोही दिन दिउँसो साढे ३ बजे दर्ता क्रमानुसार प्रकाशन गरिने सचिवालयले जनाएको छ।
सार्वजनिक सूचीका आधारमा ६ पुसको दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन्।
उम्मेदवारीमाथि सामूहिक छलफलपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने कार्यतालिका छ।
प्रस्तावित उम्मेदवारले आफ्नो एकप्रति तस्बिर र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि सभामुख रहेका रामचन्द्र मण्डललाई प्रदेश सभाका सदस्यहरुले पदअनुकूल आचरण नगरेको भन्दै हटाएका थिए। मण्डल पदबाट हटाइएपछि निर्वाचन हुन लागेको हो। अहिलेसम्म दलहरुबीचमा भएको सहमतिअनुसार सत्ता पक्षबाट जसपा नेपालले सभामुख पद पाउनेछ।
