काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा हुने निर्णयपछि उनकी पत्नी निकिता पौडेलले न्यायिक लडाइ अझै जारी रहेको बताएकी छिन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीतिमा सक्रिय भएकै कारण रवि प्रतिशोधको सिकार बनेको दाबी गरेकी हुन्।
उनले लेखेकी छिन्– ‘बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के-के खेपियो-खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दु:ख-हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।’
उनले थप लेखेकी छिन्– ‘यो बीचमा हामीले के भोगेनौँ। उसले ‘कालकोठरी’ भोग्यो। र, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगेँ। उस्तै मान्छेले यो तहको हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले उसको दृढतालाई कानुनी पाटोबाट संरक्षणको हर सम्भव प्रयास गरेँ। ‘
उनले पछिल्लो समय सार्वजनिक गरिएका आरोप र घटनाक्रमलाई जनविश्वास कमजोर पार्ने उद्देश्यले सिर्जना गरिएको कथाको एक अंश मात्र भएको उल्लेख गरेकी छिन्। हाल आएको अदालतको आदेशसँगै त्यो अध्याय समाप्त भएको उनको भनाइ छ।
भगवानप्रति गहिरो आस्था रहेको बताउँदै उनले ढिलै भए पनि न्यायको संकेत देखिएकोमा सन्तोष व्यक्त गरेकी छिन्। यद्यपि कानुनी प्रक्रिया अझै बाँकी रहेको र न्यायिक मार्गबाटै यस अस्थायी राहतलाई स्थायी बनाउने प्रतिबद्धता पनि उनले दोहोर्याएकी छिन्।