गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका पर्यटकीय सहरहरूमा सिधा उडानका लागि पहल गर्न भारतीय राजदूतावास एवं सम्बद्ध सबैमा आग्रह गरेका छन्।
नेपालका लागि भारतीय राजदूतावास, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा पोखरामा बिहीबार आयोजित ‘सेकेन्ड इन्डिया–नेपाल टुरिजम मिट’लाई सम्बोधन गर्दै उनले आफूहरूले सोचेअनुसार पोखराबाट नेपालभित्र र बाहिरका पर्यटकीय सहरमा सिधा उडान गर्न नसकिएको बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सङ्घ सरकार, पर्यटन व्यवसायी, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत विभिन्न ठाउँबाट समन्वय र सहकार्य भइरहेको उनले बताए।
नेपाल र भारतबिचको सम्बन्ध इतिहास, संस्कृति र जनस्तरसम्म जोडिएकाले असाधारण सम्बन्ध भएको उल्लेख गर्दै उनले यही सम्बन्धलाई अनुभव, विश्वास र सहकार्यमा रूपान्तरण गर्ने अवसर पर्यटनले प्रदान गर्ने बताए।
भारतीय पर्यटकलक्षित धेरै होटल, रेष्टुरेन्ट पोखरा र गण्डकी प्रदेशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको बताउँदै उनले धेरैजसो पर्यटक बिहार र युपीबाट पोखरा घुम्न आउनुभएको बताए।
भारतीय पर्यटकलाई परेको समस्याका बारेमा यहाँका व्यवसायीसँग प्रदेश सरकारले छलफल गरी समस्या समाधानको प्रयास गर्दै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय रूपैयाँका दुई सय र पाँच सयका नोट चल्नेगरी नेपाल सरकारले गरेको निर्णयले पर्यटक र व्यवसायी दुवैलाई फाइदा पुगेको बताए।
भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन डा राकेश पाण्डेले यस कार्यक्रमले दुवै देशको जनस्तरको सम्बन्धसँगै पर्यटकीय सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, भारतको उत्तर प्रदेश पर्यटनका सह निर्देशक दिनेश कुमार, पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटालगायतले यस कार्यक्रमले दुवै देशबिचको पर्यटकीय साझेदारीमा ठुलो योगदान पुर्याउने धारणा राखे। उक्त अवसरमा दुवै देशको मौलिक संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमका लागि आएका भारतीय टुर अपरेटर तथा सोसल मियाकर्मीलाई यसअघि चितवन, बन्दीपुर, बेगनास, पर्वत, बाग्लुङलगायत स्थानमा गन्तव्य प्रवर्द्धनअन्तर्गत अवलोकन भ्रमणसमेत गराइएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए।