दमक। जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा झापाको इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हातहतियार तथा गोली बेवारिसे अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे दमक नगरपालिका १‚ बुद्धटोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीबाट तीन थान इन्सास राइफल, थ्रीनटथ्री राइफलका १३४ राउन्ड गोली, एसएलआरका पाँच थान जंगी राउन्ड, इन्सास राइफलको २० राउन्ड तथा गोली राख्ने तीन थान बिन्दुली बरामद गरिएको हो।
स्थानीय बासिन्दाले उक्त स्थानमा हातहतियार तथा गोलीगठ्ठा बेवारिसे अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए। सूचनापछि प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा खटिएको प्रहरी टोलीले ती हातहतियार र गोलीगठ्ठा बरामद गरेको हो।
बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।