काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

क्रिकेट

वैकल्पिक खेलाडीको बलियो पुल बनाउने उद्देश्यले गठन गरिएको नेपाली ‘ए’ टिमले पनि पाएको छैन निरन्तरता

४ पुष २०८२
बायाँपट्टि किशोर महतो, रिजन ढकाल, आदिल अन्सारी र अनिलकुमार साह। दायाँपट्टि अर्जुन साउद, लोकेश बम, आरिफ शेख, सन्दीप जोरा र आकाश चन्द
अ+
अ-

हालै सम्पन्न नेपाल प्रिमियर लिगको पहिलो खेलमा विराटनगर किङ्सका ओपनर लोकेश बमले पहिलो खेलमै १५० को स्ट्राइक रेटले ४८ बलमा एक चौका र सात छक्कासहित ७२ रन बनाए।

स्पिन र तीव्र बलिङलाई उही आत्मविश्वासका साथ खेल्न सक्ने उनको क्षमता देखेपछि कप्तान सन्दीप लामिछानेले भनेका थिए, ‘लोकेश विराटनगरलाई फाइनलसम्म पुर्‍याउने विश्वसनीय खेलाडी हुन्।’

तर, त्यसपछि उनले आफ्नो कप्तानको भनाइअनुरूप प्रदर्शन गर्न सकेनन्। विराटनगरले खेलेका आठ खेलमा उनको भूमिका शीर्षस्थानबाट मध्य हुँदै तल्लो क्रमसम्म धकेलियो। सबै जिम्मेवारीमा फ्लप हुँदा विराटनगर क्वालिफायर १ र २ दुवैमा पराजित भयो र फाइनल नपुग्दै प्रतियोगिताबाट बाहिरियो।

लोकेशलाई पहिले राष्ट्रिय टोलीमा ओपनर आसिफ शेखलगायत मध्यक्रमका केही ब्याटरको स्थान लिन सक्ने खेलाडीका रूपमा हेरिएको थियो। तर, लगातारको खराब प्रदर्शनपछि यो सम्भावना तुहिएर गयो।

एनपीएल नेपालको टी-२० क्रिकेटका लागि सबैभन्दा ठूलो मञ्च हो। यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्नु भनेको राष्ट्रिय टोलीको ढोका ढकढक्याउनु हो। यसपालि केही खेलाडीले लोकेशझैँ सुरुमा आक्रामक प्रदर्शन नगरेका होइनन्। तर, त्यसलाई निरन्तरता दिन सकेनन्।

राष्ट्रिय टोलीको अवस्था

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ‘अन्डरडग’ को छवि बनाएको छ। गत संस्करणको आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले मात्र पराजित नेपालले यस वर्ष तीन खेलको शृंखलामा वेस्ट इन्डिजजस्तो बलियो टोलीलाई २-१ ले हरायो।

आउँदो फेब्रुअरीमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा टी-२० विश्वकप हुँदै छ। समूह ‘सी’ मा सहभागी नेपालले यस प्रतियोगितामा वेस्ट इन्डिजसहित दुईपल्टको विश्वविजेता इङ्ल्यान्ड, बाङ्लादेश र इटालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

नेपालका लागि बाङ्लादेश पुरानै प्रतिद्वन्द्वी हो। इङ्ल्यान्ड र इटालीसँग भने पहिलोपल्ट विश्वकप खेल्दै छ। भारतका पूर्वक्रिकेटर इरफान पठानले यस समूहलाई ‘ग्रुप अफ डेथ’ को संज्ञा दिएका छन्। इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै नेपाललाई ‘सुपर सिक्स’ पुग्ने सम्भावना भएको टोलीका रूपमा हेरिएको छ।

तर, पठानले भनेजस्तै नेपाली टोलीको अहिलको प्रदर्शन हेर्दा त्यो प्रमाणित हुन निकै गाह्रो देखिन्छ। यसको मुख्य कारण हो, नेपालको राष्ट्रिय क्रिकेट टोली सन् २०१९ यता सीमित खेलाडीकै वरिपरि घुमिरहेको छ। टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्सनकुमार झाको एकलौटी दबदबा छ। अझ यसमध्ये २९ वर्षीय तीव्र बलर सोमपाल कामी र ३४ वर्षीय करण केसी त २०१४/१५ देखि नियमित टोलीमा छन्।

यी खेलाडीहरू फिट र फर्ममा हुँदा राष्ट्रिय टोली प्रतिस्पर्धी देखिन्छ। तर, यीमध्ये एकदुई खेलाडीको प्रदर्शन खस्किँदा टोली नै धराशायी हुने अवस्था बन्दै गएको छ। यसको पछिल्लो उदाहरण हो, गत सेप्टेम्बरमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको तीन खेलको टी-२० शृंखला। संयुक्त अरब इमिरेट्स (यूएई)स्थित शारजहाँ क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यक्रमका रोहितकुमार पौडेल (३८ रन) र कुशल मल्ल (२८) चल्दा नेपालले १९ रनको ऐतिहासिक जित निकालेको थियो। अर्को खेलमा यी दुई ब्याटर चल्न सकेनन्। तर, ओपनर आसिफ शेखले अविजित ६८ र मध्यक्रममा सन्दीप जोराले ६३ रन बनाइदिँदा नेपालले ९० रनको अर्को फराकिलो जित हात पार्‍यो।

तर, तेस्रो खेलमा ओपनर कुशल भुर्तेललाई साथ दिने कोही नहुँदा नेपाल १० विकेटले पराजित भयो। यही खेलमा मौका पाएका ‘बेन्च प्लेअर’ लोकेशसँगै आदिल अन्सारीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

यो वर्ष नेपालले क्रिकेटकै सबैभन्दा छोटो तर रोमाञ्चक मानिने टी-२० फर्म्याटमा तीन शृंखला र विश्वकप छनोटमा गरी १७ खेल खेलिसकेको छ। तीमध्ये कुशलबाहेक अन्यको प्रदर्शन चित्तबुझ्दो देखिँदैन। उनले १७ इनिङ्समा तीन अर्धशतकसहित ५०५ रन बनाएका छन्।

निकै आशा गरिएका आसिफ शेख (३१६ रन), रोहितकुमार पौडेल (३२७ रन), दीपेन्द्रसिंह ऐरी (२३१ रन), गुल्सनकुमार झा (१५२ रन) र कुशल मल्ल (८६ रन) उनको छेउछाउ पनि पुग्न सकेका छैनन्।

यस्तो अवस्थामा एनपीएलबाट नयाँ खेलाडीको उदय हुने विश्वास थियो। अनिलकुमार साह, लोकेश, बसिर, सन्दीप जोरा र आदिल आलम, अर्जुन साउदजस्ता खेलाडीबाट ठूलो आशा राखिएको पनि थियो। तर, एनपीएलमा उनीहरूले गरेको प्रदर्शन हेर्दा यी खेलाडीलाई राष्ट्रिय टोलीको क्याम्पसम्म पुग्न पनि कठिन देखिन्छ।

“बलिङतर्फ सहब आलम र शेर मल्लले आफ्नो प्रतिभा देखाए। ब्याटिङमा विनोद भण्डारी र बसिरबाहेक अरू चल्न सकेनन्। यस्तोमा पुरानै खेलाडीलाई निरन्तरता दिनुपर्ने विकल्प नरहेको देखाउँछ,” जनकपुर बोल्ट्स सम्हालेका प्रशिक्षक मनोज कटवाल भन्छन्।

के हो पिचको समस्या?

यसपालिको एनपीएलमा १४० भन्दा बढी खेलाडी सहभागी भए। तर, ३२ खेलमा विदेशी खेलाडी नै सर्वाधिक रनकर्ताको सूचीमा हाबी देखिए। वर्षौंदेखि खेलिरहेका घरेलु खेलाडी भने चल्न सकेनन्। अझ राष्ट्रिय टोलीमा रहेका खेलाडीको स्थिति झन् दयनीय देखियो।

कप्तान रोहितले २७० रन बनाउँदा राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका अन्य खेलाडी २०० को नजिक पनि पुग्न सकेनन्। बरु विनोदले उत्कृष्ट प्रदर्शन गर्दै २६४ रन बनाए। उनले यस प्रतियोगितामा बनाएको रन कुनै पनि नेपाली ब्याटरको दोस्रो ठूलो हो।

एनपीएलमा विराटनगरबाट बसिरले मध्यक्रममा राम्रो सम्भावना देखाएका थिए। कर्णाली याक्सविरुद्ध अन्तिम बलमा जित निकाल्दा उनले अविजित ६२ रन बनाए। प्रतियोगिताभर उनले नौ इनिङ्समा १९१ रनको योगदान गरे। जुन घरेलु खेलाडीतर्फ तेस्रो ठूलो रन हो। बसिर नेपाली टोलीमा पनि संकटमोचक मानिन्छन्। नेपालको ‘ए’ टोलीबाट खेलिसकेका उनले राष्ट्रिय टोलीमा भने निरन्तर स्थान बनाउन सकेका छैनन्।

एनपीएल सुरु हुनुअघि बसीरभन्दा बढी चर्चा आदिल थिए। उनलाई सबै ८ टोलीले बोली लगाएका थिए। छिमेकी भारतको बिहार राज्यमा टेनिस क्रिकेट खेलेका आदिल लामो छक्का प्रहार गर्न माहिर मानिन्छन्। त्यसैले वेस्ट इन्डिजविरुद्ध उनलाई राष्ट्रिय टोलीमा पुनरागमनको मौका पनि दिइयो। १५ लाख रुपैयाँमा काठमान्डु गोर्खाजमा अनुबन्धित उनले सामाजिक सञ्जालमा हालेको ‘क्लिप’ अनुरूप एउटा पनि सट प्रहार गर्न सकेनन्। उनीबाहेक अन्य खेलाडीको प्रदर्शन पनि औसत रह्यो। जसले गर्दा अहिले राष्ट्रिय टोलीमा ‘बेन्च स्ट्रेन्थ’ को चिन्ता बढेको छ।

“मैले देखेका खेलाडीले अपेक्षाअनुसार ब्याटिङ गर्न सकेनन्। यद्यपि, बसिर र विनोदले एकदमै राम्रो प्रदर्शन गरे। तर, विनोद लामो समयदेखि टिममा छैनन्। यी दुई क्याम्पसम्म आउँछन् होला। अन्यको हकमा भन्न सकिँदैन,” कटवाल भन्छन्।

एनपीएलमा प्रयोग भएका विकेट ‘स्पिन फ्रेन्ड्ली’ देखिएका थिए। सन्दीपसँगै शेर मल्ल र सहब आलम चम्किनुले पनि यो कुरा प्रमाणित गर्छ। करिब चार खेलपछि बल ‘टर्न’ हुन थालेको भन्दै खेलाडीहरूले गुनासो गरेका थिए। तर, रन बनाउनै नसकिने अवस्था थिएन। ‘स्किट ब्याटर’ एडम रोसिङटनले ३०० रन कटाए। डी’आर्सी सट, मार्क वाट, रवि बोपारालगायतले पनि २०० भन्दा बढी नै रन प्रहार गरे। आधा दर्जन विदेशी खेलाडीको ब्याटिङ प्रदर्शन राम्रै रह्यो।

यीमध्ये धेरै विदेशी खेलाडीका लागि यो पिच नौलो थियो। तर, वर्षौंदेखि यही पिचमा अभ्यस्त नेपाली खेलाडीको प्रदर्शन फितलो रहनुले प्रश्न उब्जाएको छ। पूर्वबलर कलाम अली पिचलाई दोष देखाएर पन्छिन नमिल्ने बताउँछन्।

“परिस्थितिअनुसार खेल्न सक्ने ब्याटरका लागि चार खेलपछि पनि स्कोर गर्न सकिने अवसर थियो। त्यसैले पिचकै कारण रन बनेन भन्न मिल्दैन,” उनी भन्छन्।

एक दशकभन्दा बढी समय नेपाली टोलीमा बिताइसकेका सोमपाल र करणको सम्भवतः यही विश्वकप अन्तिम हुन सक्छ। किनभने, यी दुई खेलाडीले यो वर्ष टोलीमा राम्रो लय समात्न सकेका छैनन्। सोमपालले पछिल्ला १२ खेलमा १० विकेट लिएका छन्। त्यसमा पनि पाँच इनिङ्समा त उनी विकेटविहीन छन्। प्रायः सबै खेलमा उनी पूरा ओभर बलिङ गर्छन्। उनकै सहपाठी करणको स्थिति पनि उस्तै छ। उनले १० इनिङ्समा जम्मा सात विकेट लिएका छन्।

यी दुई तीव्र बलर चल्न नसक्दा टोली स्पिनरमा अधिक भर पर्न थालेको छ। अहिले टोलीको सम्पूर्ण भार ‘ग्लोबल आइकोन’ सन्दीप लामिछाने र ललितनारायण राजवंशीजस्ता मुख्य स्पिनरमा परेको छ। त्यसैले कुशल, रोहित, मल्ल र दीपेन्द्रले त्यो भार हलुका पार्न स्पिन विभाग सम्हालिरहेका छन्।

तर, यी खेलाडीको पनि आफ्नै जिम्मेवारी छ। मुख्य बलर नचल्दा यी खेलाडीले अत्यधिक दबाब महसुस गर्नुपरेको छ। खेलमा जसरी पनि पुनरागमन गर्नुपर्ने कारण यी खेलाडी ब्याटिङमा त्यति जम्न सकेका छैनन्। यही कारण कतार, यूएई, मलेसिया र ओमानजस्ता सानो टोलीसँग खेल्दा पनि नेपाललाई जित निकाल्न संघर्ष गर्नुपर्ने अवस्था छ। सोमपाल र करण आफैँ पनि चिन्तित देखिन्छन्। घरेलु प्रतियोगितामा देखिएको प्रदर्शनले अहिले नै सोमपालको विकल्प खोज्नुपर्ने अवस्था देखिन्छ।

करणले आठ इनिङ्समा १३ विकेट लिँदा सोमपाल भने सातमा रोकिएका थिए। उनले करणभन्दा एक इनिङ्स मात्र कम खेलेका हुन्। तर, यी दुवैभन्दा राम्रो प्रदर्शन अविनाशको थियो। उनी सर्वाधिक विकेटकर्ता सन्दीप, शेर मल्लसँगै १७ विकेट लिँदै तेस्रो स्थानमा रहे। उनीबाहेक नन्दन यादव, हेमन्त धामी र प्रतीश जिसीजस्ता तीव्र बलरले यसपल्ट राम्रो प्रदर्शन गरे। तर, राष्ट्रिय टोलीमा स्थान बनाइसकेका किशोर महतो, रिजन ढकाल र आकाश चन्दजस्ता वैकल्पिक पेसरले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।

टी-२० मा बलरभन्दा ब्याटरकै भूमिका निर्णायक हुन्छ। टेस्ट वा एकदिवसीयजस्तो समय लिएर खेल सुधार गर्ने अवसर टी-२० मा हुँदैन। त्यसैले सुरुदेखि नै रन बनाउन सक्ने क्षमता चाहिन्छ।

यस फर्म्याटमा पावरप्लेले खेलको लय निर्धारण गर्छ। सुरुआती ओभरमा फिल्डिङ सीमित हुँदा ब्याटरले आक्रामक खेल प्रदर्शन गर्न सक्नुपर्छ। यस्तो भयो भने मात्र विपक्षी बलरलाई दबाब सिर्जना हुन्छ। ब्याटिङ पक्षले राम्रो सुरुआत गर्न सकेन भने पछि रनरेट बढाउन कठिन हुन्छ, जसले हारको सम्भावना बढाउँछ।

त्यसैले टी-२० मा एउटै ब्याटरले खेलको नतिजा पल्टाइदिन सक्छ। केही ओभरमै लगातार बाउन्ड्री र छक्का हान्न सक्ने खेलाडीले मध्यम स्कोरलाई पनि प्रतिस्पर्धात्मक बनाइदिन सक्छ। नियमित खेलिरहेको पिचमा ब्याटिङ नचल्नुले आफूलाई दुःखी बनाएको ओपनर कुशल भुर्तेलको भनाइ छ। “म त वान डाउन खेलेको थिएँ। लोकेश, अनिल र आसिफले एक म्याचमा राम्रो गरेका थिए। निरन्तरता दिन सकेनन्। यो हाम्रै पिच हो। विदेशी खेलाडी चल्नु र हाम्रो नचल्नुले दुःखी बनाएको छ,” उनी भन्छन्।

नेपाली ‘ए’ टिम मूलतः ‘बेन्च स्ट्रेन्थ’ बलियो बनाउने उद्देश्यले गठन गरिएको थियो। तर, ‘ए’ टिमले केही खेल खेलेयता निरन्तरता पाउन सकेको छैन। त्यसैले नेपाली खेलाडी एनपीएलजस्तो प्रतियोगिताकै भरमा आफ्नो भाग्य जाँच गरिरहेका थिए। यस्तो अवस्थामा घरेलु वातावरणमा अपेक्षित प्रदर्शन गर्न नसक्नु कुशलले भनेजस्तै दुःखकै कुरा हो।