काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

५ पुष २०८२
अ+
अ-

टोकियो। जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

यो पहल जापानले प्राकृतिक स्रोतले धनी यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो।

प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेताहरूसँग पहिलो शिखर सम्मेलन आयोजना गरे। बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार जापानले मध्य एसियामा पाँच वर्षभित्र कुल तीन करोड येन बराबरका व्यापार परियोजनाको लक्ष्य तय गरेको छ।

जापान, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घजस्तै, यस क्षेत्रका विशाल तर अझै धेरै भागमा अन्वेषण नभएका प्राकृतिक स्रोतहरूको सम्भावनाबाट आकर्षित छ। जापानले दुर्लभ धातु आपूर्ति विविधिकरण गर्न र चीनमा निर्भरता कम गर्न यस क्षेत्रमा लगानी गर्न इच्छुक छ।

वक्तव्यमा उल्लेख छ,“प्राकृतिक स्रोत र ऊर्जा स्रोतले धनी मध्य एसियाले अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार गर्नु महत्वपूर्ण छ।”

नेताहरूले महत्त्वपूर्ण धातु आपूर्ति श्रृंखला सुदृढीकरणका लागि सहयोग बढाउने, आर्थिक विकास प्रवद्र्धन गर्ने र वातावरणीय लक्ष्यहरू प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरे।

साथै, उनीहरूले रूस, चीन र युरोपेली सङ्घका शीर्ष नेतासँग यस वर्ष अलग–अलग शिखर सम्मेलन पनि गरेका छन्।

विशेषज्ञहरूले यस शिखर सम्मेलनलाई जापानको क्षेत्रीय उपस्थिति बलियो बनाउन महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन्।

मध्य एसियाका राष्ट्रहरू प्राकृतिक स्रोतमा धनी भए पनि आर्थिक अवस्थाका कारण यी स्रोतहरूको उपयोग चुनौतीपूर्ण रहिरहेकाले सहकार्य र समन्वय आवश्यक छ।

काजाकिस्तान विश्वकै ठूलो युरेनियम उत्पादक हो, उज्बेकिस्तानसँग विशाल सुनको भण्डार छ, तुर्कमेनिस्तान ग्यासमा धनी छ र पहाडी किर्गिजस्तान तथा ताजिकिस्तानले नयाँ खनिज भण्डार अन्वेषण गरिरहेका छन्।