काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विघटित संसद् पुनर्स्थापना भए मुलुक पुनः पुरानै अस्थिरताको चक्रमा फस्ने भन्दै खबरदारी गरेका छन्।
शनिबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन नै अहिलेको संकटको एक मात्र निकास भएको जिकिर गरे।
उनले संसद् पुनर्स्थापनाको भ्रम नपाल्न आग्रह गर्दै यदि चुनाव बिथोल्ने प्रयास भए आफूहरू सडकमा आगो बाल्न बाध्य हुने चेतावनी दिए।
‘अहिले एकथरी मानिसहरू निर्वाचन भन्दा पनि संसद् पुनर्स्थापनाको कुरा लिएर अदालततिर गइरहेका छन्, यदि पुनर्स्थापना भयो भने सजिलै पुरानै सरकार बन्छ भन्ने भ्रम नपाले हुन्छ,’ दाहालले भने, ‘सजिलो छैन, अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो। यदि कसैले संविधान मिच्ने र निर्वाचन सार्ने दुस्साहस गर्छ भने हामी चुप लागेर बस्ने छैनौँ।’