अनुभूति
कागज बनाउने मान्छे आज कागजकै चक्रव्यूहमा अल्झिएको छ। कागजको टुक्राले मान्छेलाई हिँडाएको छ। कागज बोल्ने संसारमा मान्छेको बोलीको के अर्थ! पैसा हाँस्ने संसारमा जिउँदो ओठ रोएको के अर्थ!
छातीभरि घना जंगल लिएर सुसाउँदै छ नजिकै चन्द्रागिरि डाँडा। हृदयभरि पानीको शीतल मुहान लिएर हाँसेको यो धरा आफैँमा विशेष छ। पानी र माता मातातीर्थको पर्यायवाची भएर परिचित छन्। शीतल, स्वस्थकर र सुस्वादु छ यहाँको पानी। चन्द्रागिरिदेखि पर परसम्म फैलिएको सिमेन्टको सहरलाई पनि यहाँको जलले शीतल पार्दै आएको छ।
यस्तो हराभरा, उर्वर र शान्तमय वातावरणमा मेरो पनि वास छ। धन्य भएकी छु यो पावन भूमिमा हरेक दिन विचरण गर्न पाउँदा। नित्य आउँछु मातातीर्थ बिहानीको बतासमा बग्न। तर, आज बेग्लै उद्देश्य लिएर आएकी छु।
कुण्डको नजिकै छ मातातीर्थ वृद्धाश्रम। भत्किएका अनेकौँ जीवनलाई बटुलेर टाल्दै छ यो आश्रमले। देख्दै आएकी छु मन फाटेका आमाहरूलाई। यी आमाहरूले अतीतमा आफ्नो वर्तमान जीवनलाई जिम्मेवारीको घनले ठोकेर भोलिको जीवन आरामले बाँच्ने आशामा निर्माण गरेका थिए परिवार र सन्तानका सुन्दर मोतीहरू।
श्रद्धाविहीन सम्बन्धबाट उठेको तिरस्कारको राग बडो विषाक्त हुनेरैछ। जीवनको अन्तिम आकाश असुरक्षित बन्न थालेपछि खस्दो रहेछ अनुहारको ऊर्जावान औरा।
तिनै मोतीहरू गलपासो भएपछि, फेर्न कठिन भएर सरल श्वास आएका छन् आश्रममा। बुढ्यौलीको सुरक्षित र सुन्दर सपना सजाउने क्रममा वर्षौंवर्ष परिवारको भोटे कुकुर बनेर गर्जिने आमाहरू, आफन्तले नै हृदयमा लुतो सल्काएपछि सडक सडक भौँतारिँदै गर्दा आएका हुन् यो आश्रममा।
कठै! आफैँले गाँसेका मोतीका दानाहरूबाट प्रताडित हुनुपर्दा दुःख्ने छातीको व्याख्या गर्न म असमर्थ छु।
हिजोआज देख्छु सडक किनारमा निर्माण भएका सुन्दर प्रतीक्षालयहरू। गाडी पर्खने क्रममा निमेषभर बस्ने प्रतीक्षालय पनि कति सुन्दर र चिटिक्कको बनेको देख्छु। पलभर उभिनका लागि पनि हामीलाई सुरक्षित र सुन्दर प्रतीक्षालय चाहिन्छ। सभ्य समाजमा कलात्मक प्रतीक्षालय निर्माण गर्ने अभियान चल्दै छ। कत्रो दर्शन बोकेका छन् यी प्रतीक्षालयहरूले।
तर, जीवनयात्राको अन्तिमतिरको बिसौनी सबैको सुन्दर नहुन सक्छ। आफैँले निर्माण गरेको सुन्दर संसारबाट निर्वासित हुनुपर्छ। आफैँले निर्माण गरेको संसार आफ्नै लागि असुरक्षित र अपमानित हुन सक्छ।
बुढ्यौलीको मुजाले पौरखको पहाड छिचोल्न नसकेपछि आफ्नै घर, परिवार र आफन्तीहरू किन बैरी हुन्छन्? किन यति निर्दयी हुन्छन्? किन सोच्न सक्दैनन् समयको चाबुक कुनै दिन आफूले पनि खानुपर्छ भनेर? किन बिर्सिन्छन् नैतिक शिक्षाको न्यानो स्पर्श?
श्रद्धाविहीन सम्बन्धबाट उठेको तिरस्कारको राग बडो विषाक्त हुनेरैछ। जीवनको अन्तिम आकाश असुरक्षित बन्न थालेपछि खस्दो रहेछ अनुहारको ऊर्जावान औरा।
हेर्दै छु, जीवनदेखि बिरक्तिएका आमाहरूलाई। कसैको अनुहार निर्दोष, निश्छल लाग्छ त कैयौँ अनुहारमा तिक्तता, रिक्तता, विक्षिप्तता, खिन्नता र दिक्दारीको पहाड डरलाग्दो गरी उठेको देख्छु।
म वृद्धाश्रमको आँगनमा उभिएकी छु। तिरस्कारको भेलमा बग्दै बग्दै आएका अस्थिर मनका घाउहरू स्थिर भएर बस्न खोज्ने चौतारो भएको छ यो आश्रम।
हामीलाई देख्नेबित्तिकै कोही आमाहरू निकट आएर फिस्स हाँस्दै छन्। लाग्छ निमेषभरका लागि भए पनि जीवनको गह्रौँ भारी बिसाएर संवादी हुन खोज्दै छन्। कुनै अनुहार नजिकै आउँछन्। आँखामा समुद्र लुकाउँदै हात जोड्दै खुसीको हिमाल ओठभरि फुलाउँछन्। देखेर आमाहरूको पीडादायी आँखा मलाई भाउन्न हुन्छ।
म कालो चस्माभित्र आँखाभरि मातातीर्थ कुण्ड डबडबाउँछु। बच्चा बन्न जानेका आमाहरू उज्याला देखेर आँखाको पानी र ओठको घाम लिएर म इन्द्रेणी उदाउँछु। तर, उमेर र विवेकको डोको फाल्न नसकेका आमाहरू विक्षिप्त देखिए, प्रार्थनामा ईश्वरलाई पुकार्छु।
हेर्दै छु, जीवनदेखि बिरक्तिएका आमाहरूलाई। कसैको अनुहार निर्दोष, निश्छल लाग्छ त कैयौँ अनुहारमा तिक्तता, रिक्तता, विक्षिप्तता, खिन्नता र दिक्दारीको पहाड डरलाग्दो गरी उठेको देख्छु।
मंसिरे घाम पारिलो छ। बिहानको ठीक ९ बजेको छ। हामी अफिस कोठाभित्र छिरेका छौँ। प्रेम थापा सरसँग भेट हुन्छ। आश्रमको गतिविधि सुन्न लालायित हुन्छु र जिज्ञासा राख्छु, ‘आश्रम कसरी चलेको छ सर? यहाँ कति जना हुनुहुन्छ आमाहरू?’
समस्याको उच्छ्वास फुत्किन्छ राम सरको मुखबाट, ‘दान सहयोगबाटै यो आश्रम चल्छ। पाटनको निश्चित घरधुरीबाट नियमित रूपमा मुठ्ठीदान आउँछ। अनि यी यसरी एक छाक खाना खुवाउने, खाजा खुवाउने तपाईंहरूजस्ता दाताहरू पनि आउनुहुन्छ। त्यसैले चलेको छ।
म गम खान्छु- हामी एउटै समाजमा बस्छौँ, तर कसैले जिउँदी आमालाई सडकमा ल्याएर काम नलाग्ने वस्तु सम्झेर फ्यालिदिन्छन् त कसैले परलोक भएकी आमाको सम्झनामा अरू अवहेलित, आश्रयविहीन आमाहरूलाई आश्रयस्थल निर्माण गरिदिन्छन्।
सम्झिन्छु– तँ चिता म पुर्याउँछु भन्छन् रे ईश्वर हो कि के हो!
पुनः अर्को जिज्ञासा राख्छु, ‘अनि सरकारबाट केही सहयोग आउँदैन?’
जिज्ञासामा उहाँ हाँस्दै भन्नुहुन्छ, ‘अहँ केही छैन सहयोग। सत्ताइस वर्षदेखि दाताहरूको सेवाबाट सञ्चालित छ।’
आमाहरू पारिलो घाम ताप्दै हुनुहुन्छ। बाहिर पुगेका मेरा आँखाहरूलाई भित्र समेट्दै छु। यो आश्रम हेर्दा बडो आनन्द लाग्दै छ, तर सरकारबाट गरिनुपर्ने यस्तो पुण्यकार्यमा हातेमालो पनि छैन। सरकारको भन्दा मन अमिलो भएको छ।
फेरि सोध्छु, ‘स्थानीय तहबाट केही बजेट आउँछ कि?’
उपहास र व्यंग्यको मुस्कान देख्छु उहाँको ओठमा।
‘दिन्छ हरेक वर्ष यो जग्गा र घरको कर लिएर सरकारले सहयोग गर्दै आएको छ,’ उहाँ भन्नुहुन्छ, ‘जग्गा, भवन र तीन तलाको यो भवनका कोठाहरू पृथक् पृथक् व्यक्तिहरूले आआफ्ना आमाको नाममा निर्माण गरिदिनुभएको छ। हेर्नुस् न प्रत्येक ढोकाको बाहिर।’
देखिन्छ चुटुक्कको चारकुने कालो मार्बलमा दाताहरूको नाम, प्रेम र सहयोग।
म गम खान्छु- हामी एउटै समाजमा बस्छौँ, तर कसैले जिउँदी आमालाई सडकमा ल्याएर काम नलाग्ने वस्तु सम्झेर फ्यालिदिन्छन् त कसैले परलोक भएकी आमाको सम्झनामा अरू अवहेलित, आश्रयविहीन आमाहरूलाई आश्रयस्थल निर्माण गरिदिन्छन्।
नीलिमा काफ्ले (माइजू) आमाहरूको सम्झनामा यहाँका आमाहरूलाई खाना खुवाउन आउनुभएको छ। म पनि छु उहाँसँगै। साथमा छन् निरीष काफ्ले र प्रातकालीन घुमाइमा आफ्ना साथीलाई भेट्न आएका साहित्यकार मधु पाठक। सबैसँग सबै परिचित कस्तो संयोग!
आँखा चनाखा हुन्छन्। पहेँलो रङ पोतिएको घर पोसिलो देख्छु। हराभरा छ वातावरण। सफा छ आँगन। फराकिला छन् बस्ने मेचहरू। मेचको भृकुटीमै लिखिएको छ दाताको नाम। आफ्ना दिवंगत आमाहरूको नामलाई अक्षरमा सजाएर आमाहरूकै सेवामा लगाएका छन्। देब्रेपट्टि फराकिलो संरचना छ।
चन्द्रागिरिको जीवन्त वातावरणमा बस्छन् २४ आमाहरू। जीवन छँदै जीवन्तता खोसिएका अनुहारहरू। रस, रङ र रूप उडेका विश्वसुन्दरीहरू।
हेर्छु पांग्रावाला कुर्सीमा एउटी आमालाई गुडाउँदै ल्याइँदै छ। अपांगमैत्री छ तलमाथि गर्ने सोपान। हृदय हाँस्छ संरचनाको सौन्दर्यमा।
हिँड्न नसक्नेहरू कुर्सीको पांग्राबाट यताउता गर्दै पारिलो घाम चाख्दै छन्। भित्र भोजन पाक्दै छ। मेरा पाइलाहरू गतिशील हुन्छन्। ढोका ढोकाबाट चियाउँछु भित्री कोठा। एउटा कोठामा तीन वटासम्म खाट छन्। लत्ताकपडाले भरिएको छ खाटको छेउ। सीमित क्षमता छ भवनको।
बिहानको खाजा खाएर बसेका आमाहरूको दैनिक एउटै लयमा बग्दो हो। हेर्छु, निस्तेज छन् आँखाहरू। कल्पना गर्छु– अतीतदंश कति ठुङ्दो हो। कति लघार्दो हो आफूले नै छोडेर आएका समयका अनेकौँ धामनले। कति बेर्दो हो ममताको अजिंगरले। सम्झनाको चिलले कति माथि उडाउँदो हो। स्नेहको प्यासले कति मरुभूमि छिचल्दो हो।
आश्रम जति नै घमाइलो भए पनि घर त बन्न सक्दैन नि! आखिर। मेरो मन न्यास्रिन्छ। वर्तमानलाई छोडेर मन कुद्छ भविष्यको चलचित्र हेर्न। स्पष्ट देख्न थाल्छु उमेरको सगरमाथा टेकेको आफ्नै रूप। आउने समयको अनेकौँ बबन्डर। देख्छु आफू पनि वृद्ध भएको लाचार रूप। अनि हतासिन्छु आउने समयको कल्पनामा र पुनः मनलाई वर्तमानमा फर्काउँछु।
चन्द्रागिरिको जीवन्त वातावरणमा बस्छन् २४ आमाहरू। जीवन छँदै जीवन्तता खोसिएका अनुहारहरू। रस, रङ र रूप उडेका विश्वसुन्दरीहरू। वर्षौंदेखि विद्यालयकी प्रधानाध्यापक भएर बसेकी स्वाबलम्बी आमा आज घरबारविहीन भएर कसैको दयामा बाँच्नुपरेको छ। उहाँको अनुहारमा हेर्छु कतै छैन जीवन। कतै छैन उत्साह। कतै छैन आस। आशा हराएको मान्छे मात्र श्वास फेर्दो रहेछ। आरनको खलातीझैँ देख्छु छाती। लाग्दै छ श्वास फेर्नु मात्र जीवन कदापि हैन रहेछ। जीवन त आशाको आकाश रहेछ जहाँ उमंगको बतास चल्छ नित्य।
शारीरिक पीडाभन्दा कति हो कति घातक हुने रहेछ मानसिक पीडा। अझ त्यो पीडा आफ्नै सन्तानबाट खेप्नुपर्दा कस्तो पहिरो खस्दो हो आमाको छातीमा?
उच्च शिक्षा हासिल गरेका आमाहरूदेखि सरलता ओडेका देवीहरू एकै ठाउँमा बसेर कुर्दै छन् जीवनको अन्तिम गाडी। २७ वर्षदेखि यही आश्रममा बस्दै आएकी आमालाई देख्छु। बोल्न खोज्छु, तर उहाँ बोल्नुहुन्न। निकै स्वस्थ देख्छु शरीर। तर मन बिमार छ। ओठ हाँस्दैनन्। बोली छैन। सोच्न बाध्य हुन्छु– मनभित्र हुरी त चल्दो हो। अतीत त बोल्दो हो! कति होलान् ती छातीभित्र आवाजका बबन्डर!
घरबाट तिरस्कृत भएर भौँतारिँदै सडक सडक हिँडेका जिउँदा आमाहरूलाई यहाँ ल्याएर मान्छेजसरी बचाउने प्रयास स्तुत्य छ। हृदय आभारले भरिन्छ। यस आश्रमका परिकल्पनाकार, सञ्चालक र सहयोगी हातहरूप्रति शिरनत गर्छु।
मरेकी आमाको मुख मातातीर्थको कुण्डमा देखेर आनन्द प्राप्त गर्ने सन्तानहरू आज कता गए? महान् गोठालाले पानीमा आमाको छाया देखेर इतिहास रचे। आफू जन्मिएको धरालाई प्रसिद्धि दिलाए।परिचय दिए। आधुनिक शिक्षाका महापण्डितहरू किन देख्न सक्दैनन् आफ्नी जिउँदी आमाको अनुहारमा आफ्नै कोमल अनुहार? चाउरिँदै गएका आमाका त्वचामा आफ्ना कलिला हात। कचेराले पुरिँदै गरेका आमाका निस्तेज हुँदै गएका आँखामा आमाले नै उठाउँदै गरेको अरुण सूर्य। आमाका कमजोर हातगोडामा उठ्दै गरेका आफ्नै अनेकौँ पदचाप। तर, मूढतामा जेलिएको सन्तान निशान्ध हुने रहेछ।
आमाको शक्ति, ऊर्जा, जवानी र आरोग्यता ओइलिएर जीवनको डालीबाट खस्नै लागेको सत्यता देख्दादेख्दै पनि विमूढ बनेको छ सन्तान। यथार्थबोध हुँदाहुँदै ऊ समयलाई बन्दी बनाउन सक्छु भन्ने अभिमानले किचड बन्दो रहेछ।
आमाको महिमा र स्तुति गाएर थाक्दैन कहिल्यै हाम्रो समाज। आमालाई देवीको स्थानमा राखेर पूजा गर्छ, तर कस्तो विडम्बना, यही समाजमा आमा त्याज्य वस्तुका रूपमा पनि फालिएका छन्। आफ्नै सन्तानबाट अवहेलित छन्। परिवारबाट तिरस्कृत छन्। शारीरिक पीडाभन्दा कति हो कति घातक हुने रहेछ मानसिक पीडा। अझ त्यो पीडा आफ्नै सन्तानबाट खेप्नुपर्दा कस्तो पहिरो खस्दो हो आमाको छातीमा?
अनागरिकसरह छन् यी आमाहरू। आफ्नै घरमा परिचित भएर पनि अपरिचित बन्नुको पीडा कस्तो होला! कल्पनाले नै मलाई आतंकित बनाउँछ।
आशाको आवाजमा म राम सरसँग जिज्ञासा राख्छु, ‘आमाहरूको स्वास्थ्य बिमा छ त?’
निराश स्वर गुन्जिन्छ आमातीर्थमा, ‘प्रायः सडकबाट ल्याइएका आमाहरूको परिचय छैन। नागरिकता पनि छैन। त्यसैले कुनै सुविधा छैन।’
खिन्न हुन्छ मन। कागजको टुक्रामा परिभाषित छ मानव जीवन। कागज बनाउने मान्छे आज कागजकै चक्रव्यूहमा अल्झिएको छ। कागजको टुक्राले मान्छेलाई हिँडाएको छ। कागज बोल्ने संसारमा मान्छेको बोलीको के अर्थ! पैसा हाँस्ने संसारमा जिउँदो ओठ रोएको के अर्थ। अर्थहीन लाग्छ मलाई सबै अर्थहरू। वृथा लाग्छ कागजको संसार। अत्तालिन्छु मेरो परिचय बोकेको कागज हराउँदा म सिंगै भए पनि हराउने रहेछु। मलाई त कागजले पो बोकेको रहेछ! म त जिउँदो माटो हैन एउटा कागज रहेछु। मात्र कागज।
अनागरिकसरह छन् यी आमाहरू। आफ्नै घरमा परिचित भएर पनि अपरिचित बन्नुको पीडा कस्तो होला! कल्पनाले नै मलाई आतंकित बनाउँछ।
पुनः राम सरलाई सोध्छु, ‘यी आमाहरूलाई खानाभन्दा पनि बरु डाक्टरहरूले आफ्नो सीपले सेवा गरे कस्तो हुन्थ्यो होला? म त आमाहरूको मुहारमा उदासीको सुनामी, विक्षिप्तताको हुन्डरी देख्दै छु। हरेक महिना कुनै न कुनै डाक्टरको टिमले यहाँ आएर सेवा दिए कस्तो हुन्थ्यो होला?’
राम सर आशाको निःश्वास बोल्नुहुन्छ, ‘खाना त जसले पनि खुवाउन सक्छ, डाक्टरहरूले आएर बेलाबेला आमाहरूलाई सेवा दिए त काइदा हुन्थ्यो। विशेषतः औषधिहरू।’
नीलिमा माइजूलाई आशाको दृष्टिले हेर्छु। संवेदनशील पात्र नीलिमा काफ्ले भन्नुहुन्छ, ‘डाक्टर साहेबसँग कुरा राख्छु।’
पुनः म आशाको बिस्कुन सुकाउँदै बोल्छु, ‘अझ मानसिक उपचार नितान्त आवश्यक रहेछ यी आमाहरूलाई। डाक्टर मामाका साथीहरू कति होलान्, मानसिक रोग विशेषज्ञहरूसगँ कुरा गरे के हुँदैन र माइजू।’ सकारात्मक देखिन्छन् माइजूका आँखाहरू, म दंगिएकी छु।
फेरि अर्को पीडाको तुना खोल्छु, ‘यहाँ यस्तो आश्रम छ। उः यही बाटोमा देख्दै आएकी छु दुई जना विक्षिप्त आमालाई। म केही गर्न सक्दिनँ। ती आमाहरूलाई यहाँ ल्याएर राख्न सकिँदैन सर? लौन मलाई त बडो पीडा हुन्छ लुगाको दराज बोकेर दोबाटोमा बस्ने आमाहरूलाई देखेर।’
राम सर भन्नुहुन्छ, ‘तपाईंभन्दा बढी पीडा मलाई हुन्छ। म यस्तो घरमा बस्ने हो भन्दै हरेकचोटि भाग्नुहुन्छ। यहाँ नर्स पनि हुनुहुन्छ। तर, ती आमाहरू पूर्ण रूपमा विक्षिप्त छन्। कति आमालाई नियमित औषधि खुवानुपर्छ। उपचारको खाँचो छ।’
मनमनै प्रार्थना गर्दै छु– हे ईश्वर, यी आमाहरूलाई उपचारको सेवा चाँडै मिलोस्। भोजन खुवाउँदै गर्दा आशाको सूर्य टाउकामाथिबाट मुस्कुराउँदै बोल्यो, ‘किन धन्दा मान्छेस् अनिता, तेरो सहरमा ईश्वर बनेर बसेका डाक्टरहरूको संख्या कम्ती छैन। अब ती डाक्टरहरूले तेरो कुरा चाँडै सुन्छन्!’