एएफपी । उत्तर पूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुँदा सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
भारतमा लगभग २२ हजार जंगली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ ।
वरिष्ठ असम पुलिस अधिकारी राकेश रेड्डीलाई उदृत गर्दै एएफपीले सात वटा हात्तीहरूको घटना स्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ । मिजोराम राज्यबाट नयाँ दिल्लीतर्फ गई रहेको उक्त रेलको पाँच वटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ।
अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरहरूमा गति नियन्त्रण प्रणाली लागू गरेको भए पनि पछिल्लो दुर्घटना यी क्षेत्रहरू बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताए।
रेल चालकले हात्तीको झुण्ड देखेर आपत्कालीन ब्रेक लगाए ता पनि हात्तीहरू रेलमा आएर ठोक्किँदा दुर्घटना भएको उनले बताएका छन् ।
वन विनाश र तिनीहरूको बासस्थान नजिकको निर्माण गतिविधिले हात्तीहरूलाई खानाका लागि टाढा-टाढा जान बाध्य पारी मानिसहरूसँगको द्वन्द्वमा आएको जनाइएको छ ।
संसदीय तथ्यांक अनुसार सन् २०२३– २०२४ मा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको थियो ।