शैली

फिल्म प्रचारप्रसारको बलियो माध्यम बन्दै ट्रेलर

५ पुष २०८२
तस्बिर : एआईको सहयोगमा
अ+
अ-

सिनेमाको ट्रेलर अचेल हलमा मात्रै सीमित छैन, इन्टरनेटको पहुँचले यो एकैपटक लाखौँ दर्शकसम्म पुग्छ। जति धेरै दर्शकमाझ पुग्यो, ट्रेलरको प्रभाव र महत्त्व उति नै स्थापित भइरहेको छ।

निर्देशक दीपेन्द्र लामा भन्छन्, “आमदर्शकले जस्तै मैले पनि फिल्म हेर्ने कि नहेर्ने छुट्याउने निर्णायक आधार नै ट्रेलर हो।”

फिल्मबारे जानकारी दिन बनाइने ट्रेलरहरू प्रचारप्रसारका सशक्त माध्यम हुन् जसको सम्बन्ध सोझै फिल्मको व्यापारसँग गाँसिन्छ। ६ माया छपक्कै, दुई नम्बरीजस्ता हिट फिल्मका निर्देशक लामा यतिसम्म भन्छन्, “मेरा जति पनि फिल्ममा दर्शक आए, ट्रेलरकै कारण आए। जतिमा दर्शक आएनन्, ट्रेलरकै कारण आएनन्।”

२०६० सालतिर फिल्म उद्योगमा प्रवेश गरेका खानको अनुभवमा त्यतिबेला दुईचार गीत, दुईचार संवाद, केही फाइटका दृश्यको संयोजन नै ट्रेलर मानिन्थ्यो।

फिल्मप्रतिको धारणा निर्माण गर्ने भएकाले ट्रेलर जति आकर्षक-कलात्मक बन्यो, दर्शकमा उति नै उत्सुकता जगाउँछ। ट्रेलरको विशेषता भनेकै यसले फिल्मको मुख्य विषय र अनुभूति छोटो अवधिमै दर्शकमाझ प्रवाह गर्नु हो।

हलिउडदेखि बलिउडसम्म ट्रेलर निर्माणका लागि एजेन्सी र विज्ञहरू संलग्न हुन्छन्। नेपालमा भने ट्रेलर सम्पादनको काम गर्ने जनशक्ति एकदमै कम भएको साहिल खान बताउँछन्। खान ट्रेलर विशेषज्ञका परिचय बनाउने नेपालकै पहिलो सम्पादक हुन्। उनका अनुसार वार्षिक रूपमा सार्वजनिक हुने फिल्मको ६० देखि ७० प्रतिशत ट्रेलर उनैले बनाइरहेका छन्।

ट्रेलर सम्पादक साहिल खान

ट्रेलरको महत्त्वबारे उनी भन्छन्, “ट्रेलर भ्युज बढी भएका फिल्महरूको बक्स अफिस ओपनिङ राम्रो हुने सम्भावना बलियो हुन्छ। त्यसैले नेपालमा यसलाई पहिलाभन्दा गम्भीर रूपमा लिन थालिएको छ।”

अहिले सामाजिक सञ्जालहरूको प्रभाव धेरै भएकाले ट्रेलरको कुनै अंश वा संवाद चलेमा टिकटक, रिल्सजस्ता माध्यमबाट फैलिँदै यसले फिल्मको ‘हाइप’ बढाउन योगदान दिन्छ।

दुई दशकदेखि यही क्षेत्रमा सक्रिय खानले गत वर्ष ३५ वटा फिल्मको ट्रेलर काटेका थिए। यो वर्ष पनि उनले २० वटा ट्रेलर बनाइसकेका छन्। त्यसमा अञ्जिला, जेरी अन टप, आ बाट आँमालगायत फिल्मका ट्रेलर छन्।

खान ट्रेलरको संख्यात्मक वृद्धिभन्दा पनि व्यावसायिक विधाका रूपमा स्थापित गर्ने सम्पादक हुन्। अहिलेका ट्रेलरहरू कथावाचन शैलीमा प्रस्तुत गरिएका हुन्छन्। यसले ट्रेलरमा पनि सुरु, मध्य र अन्त महसुस गराउँछ।

२०६० सालतिर फिल्म उद्योगमा प्रवेश गरेका खानको अनुभवमा त्यतिबेला दुईचार गीत, दुईचार संवाद, केही फाइटका दृश्यको संयोजन नै ट्रेलर मानिन्थ्यो। खान भन्छन्, “स्टोरी टेलिङ थिएन। फिल्मको विषयवस्तु बुझिँदैनथ्यो, कथा लुकाउने चलन थियो।”

तस्बिर : साहिल खान

करिब दुई दशक फिल्म सम्पादनमा बिताइसकेका मित्र डी गुरुङले जात्रा शृंखला, महापुरुष, परान, ए मेरो हजुर ४ लगायत दर्जनौँ फिल्म सम्पादन गरेका छन्। उनी अचेलका प्रायः ट्रेलरमा कथाको ‘हिन्ट’ दिने अभ्यास भइरहेको बताउँछन्।

भन्छन्, “पहिला टेलिभिजनमा ३० सेकेन्डको प्रोमो देखाइन्थ्यो। अहिले समयसीमा पहिलाजस्तो छैन। र, युट्युब, टिकटक, रिल्सजस्ता माध्यम थपिएका छन्।”

निर्माता/निर्देशक अशोक शर्मा रिलको जमानामा ट्रेलर कम बन्ने, बने पनि थोरै समूहमा मात्र पुग्ने स्मरण गर्छन्। डिजिटल प्रविधिमा प्रवेश गरेपछि ट्रेलरलाई प्राथमिकतामा राख्न थालिएको बताउँछन्।

“डिजिटल प्रविधिका कारण ट्रेलरको पहुँच र प्रभाव विस्तार भयो,” उनी भन्छन्, “अचेल फिल्मको प्रचारप्रसारदेखि व्यापारमा समेत यसको ठूलो प्रभाव छ।”

खानका अनुसार पछिल्लो एक दशकदेखि ट्रेलरलाई व्यावसायिक रूपमै अलग विधा स्विकार्न थालिएको हो। उनले पहिलोपटक ट्रेलर काट्दा रोज राणाको फिल्मका लागि पाँच हजार रुपैयाँ पारिश्रमिक लिएका थिए। २०० भन्दा बढी फिल्मका ट्रेलर सम्पादन गरेका उनी भन्छन्, “अहिले डेढ लाख रुपैयाँ लिन्छु। महिनामा औसत दुईतीन वटा फिल्मको काम गर्छु।”

ट्रेलर कसले काट्दा राम्रो?

फिल्म क्षेत्रमा सम्पादक आफैँले ट्रेलर काट्ने वा बाहिरी सम्पादक खोज्ने दुई खालका अभ्यास समानान्तर रूपमा चलिरहेका छन्। यो अभ्यासमा दुई खालका मत पनि छन्। पहिलो मतले, फिल्म सम्पादन जसले गर्‍यो, उसैले ट्रेलर काट्दा राम्रो भन्छ। अर्को मतले, बाहिरी सम्पादकले ट्रेलर बनाउँदा फरक दृष्टिकोण थपिने विश्वास राख्छ। खान दोस्रोमा पर्छन्। उनको बुझाइमा ट्रेलर सम्पादकको दिमाग फ्रेस हुन्छ। ट्रेलरमै केन्द्रित भएर काम गरेपछि दिमाग पनि त्यहीअनुसार चल्छ।

दुईतीन घन्टा लामो फिल्मलाई औसतमा दुई मिनेट ३० सेकेन्डमा समेटेर आकर्षक बनाउने कामलाई असाध्यै चुनौतीपूर्ण मान्छन् सम्पादकहरू।

कालो पोथी, साम्बाला, नो विन्टर होलिडेज, ऐना झ्यालको पुतलीजस्ता फिल्मको सम्पादन वा ट्रेलर काट्ने काममा संलग्न किरण श्रेष्ठ आफूले सम्पादन गरेका फिल्मको ट्रेलर आफैँ काट्न सजिलो हुने बताउँछन्। तर, अरूको ट्रेलर काट्दा नयाँ कुरा सिक्न पाइने, नयाँ दृष्टिकोण बुझ्न पाइने उनको भनाइ छ।

फिल्म सम्पादन र ट्रेलर काट्ने दुवै काम गर्ने सूचीमा निमेष श्रेष्ठको नाम अग्रपंक्तिमा आउँछ। डेढ दशकभन्दा लामो समयदेखि सक्रिय उनी कबड्डी शृंखला, जारी शृंखला, दासढुंगा, कालो पोथीजस्ता फिल्मका सम्पादक हुन्। उनी आफूले पहिला काम गरेका धेरैजसो फिल्मको ट्रेलर आफैंले काट्ने गरेको बताउँछन्। भन्छन्, “अहिले पनि सकेसम्म मैले काम गरेका फिल्मको समूहले मबाटै ट्रेलर काट्न चाहन्छन्।”

निर्देशक प्रदीप भट्टराईका साथमा सम्पादक मित्र डी गुरुङ

दुई दशकदेखि सक्रिय सम्पादक गुरुङ आफूले सम्पादन गरेका ७५ प्रतिशत फिल्मका ट्रेलर आफैँ तयार पार्छन्। उनका अनुसार ट्रेलर आफैँ काट्ने वा अरूलाई दिने भन्ने निश्चित नियम छैन। भन्छन्, “निर्देशक प्रदीप भट्टराईका सबै फिल्मको ट्रेलर म आफैँ काट्छु। उहाँ मैसँग काम गर्न रुचाउनुहुन्छ, मलाई पनि उहाँका फिल्मको ट्रेलर काट्न मजा लाग्छ।” यो वर्ष सर्वाधिक कमाउने परान र यही शुक्रबार सार्वजनिक झरीपछिको इन्द्रेणीको ट्रेलर पनि उनैले काटेका हुन्।

गुरुङ र निमेष दुवै कार्यव्यस्तता, मुड र फिल्म निर्माण पक्षको चाहनाअनुसार फिल्मको ट्रेलर सम्पादन गर्ने वा नगर्ने बताउँछन्।

अरू सम्पादक खोज्नुपरे प्रायः साहिललाई नै सम्पर्क गर्छन्। सम्पादक निमेष भन्छन्, “साहिल यही कामका लागि डेडिकेटेड भएकाले उसलाई दिँदा समय पनि बच्छ।”

सामान्यतया ट्रेलर काट्न तीनचार दिन लाग्छ। तर, यसका लागि मुड, कन्सेप्ट र ऊर्जा चाहिने भएकाले एउटा ट्रेलर तयार पार्न कम्तीमा एक हप्ता छुट्याउँछन्।

गुरुङ भन्छन्, “ट्रेलर बनाउनु चुनौतीपूर्ण र झन्झटिलो काम हो। कहिलेकाहीँ कुनै फिल्मको ट्रेलर काट्नै मन लाग्दैन। काट्छु भन्दा पनि अलमल हुन्छ। त्यस्तो बेला ट्रेलर सम्पादकको सहयोग लिइन्छ।”

निमेष ट्रेलर सम्पादनलाई फिल्म सम्पादनभन्दा चुनौतीपूर्ण र झन्झटिलो मान्छन्। “फिल्मको मार्केटिङ र दर्शक प्रभावको सबैभन्दा महत्त्वपूर्ण पक्ष भएकाले यसलाई हलुका रूपमा लिन हुँदैन,” भन्छन्, “पहिला जोस थियो, अहिले ट्रेलर भन्नासाथ थकाइ लाग्छ। झन्झट पनि लाग्छ। मुड नभएको बेला वा फिल्मका अरू काम धेरै भएको बेला खासै उत्साह हुँदैन।”

छोटो तर चुनौतीपूर्ण

दुईतीन घन्टा लामो फिल्मलाई औसतमा दुई मिनेट ३० सेकेन्डमा समेटेर आकर्षक बनाउने कामलाई असाध्यै चुनौतीपूर्ण मान्छन् सम्पादकहरू।

खानका अनुसार एउटा ट्रेलर काट्न औसतमा तीनचार दिन लाग्छ। भन्छन्, “कहाँबाट सुरु गर्ने, कहाँ अन्त्य गर्ने, कुन भावना र कस्तो गतिमा काट्ने कुरा सोच्न समय लाग्छ। त्यसपछि वान टेकमै ९० प्रतिशतभन्दा बढी काम सकिन्छ।”

निमेष पनि अवधारणा बनाउन समय लाग्ने बताउँछन्। भन्छन्, “आइडियामा स्पष्ट भएपछि खास सम्पादन त धेरै छिटो हुन्छ।”

ट्रेलर सम्पादक फिल्मका राम्रा राम्रा अंश ट्रेलरमा समेट्छन्। औसत फिल्मका ट्रेलरलाई पनि कसरी रुचिकर बनाउने प्रयास गर्छन्। निमेष फिल्म औसत छ भनेर जानीजानी ट्रेलर ‘डल’ बनाउन नमिल्ने बताउँछन्।

तर, कुनै कुनै ट्रेलरले लामो समय लिन्छ। खानलाई भैरवको ट्रेलर बनाउन १८ दिन लागेको थियो। सम्पादक गुरुङ झरीपछिको इन्द्रेणीको ट्रेलर काट्न आठदश दिन लागेको सुनाउँछन्।

उनले सम्पादन गरेका ७५ प्रतिशतभन्दा बढी फिल्मका ट्रेलर आफैँ काटेका छन्।

पहिला  निर्देशक, निर्माता र सम्पादक मिलेर तयार पारिने ट्रेलर अहिले विशेषज्ञलाई बनाउन जिम्मा दिने चलन बढेको छ। यसले ट्रेलर सम्पादनलाई अलग विधाका रूपमा स्थापित गर्दै छ।

अहिलेका ट्रेलरमा सबैभन्दा राम्रा र बलिया दृश्य, संवादको प्रयोग हुन्छन्। प्रस्तुतिलाई कलात्मक बनाउने प्रतिस्पर्धा हुन्छ। र, फिल्मको विधा र थिमबारे जानकारी देओस् भन्ने अभिप्रायले ट्रेलर बनाइन्छ। यसले कलात्मक प्रस्तुतिको प्रतिस्पर्धा पनि बढाइरहेको छ।

सम्पादक गुरुङ र निमेष ट्रेलरलाई एकदमै सिर्जनात्मक काम भएकाले फिल्म उद्योगमा ट्रेलर सम्पादक हुनु राम्रो मान्छन्।

तस्बिर : साहिल खान

निर्देशक लामा भने यसमा सहमत छैनन्। उनी आफ्ना सबै फिल्मको ट्रेलर आफ्नै सोचअनुसार बनाउन लगाउने बताउँछन्। निर्देशक र सम्पादकले जति बाहिरी ट्रेलर सम्पादकले फिल्मको कथा बुझ्न नसक्ने उनको तर्क छ।

उनी थप्छन्, “विदेशमा पनि ट्रेलरहरू सूत्रमा बन्छन्। नेपाली ट्रेलर पनि सूत्रमै बन्छ। त्यसैले म आफ्ना फिल्मका सम्पादकसँग बसेर आफ्नै आइडियामा ट्रेलर बनाउँछु।”

ट्रेलर भर्सेस फिल्म

नेपालमा जति फिल्म बन्छन्, तीमध्ये धेरैले दर्शकलाई हलसम्म तान्न असफल हुन्छन्। संसारभरि नै जति फिल्म बन्छन्, तीमध्ये थोरै फिल्म मात्र दर्शक र समीक्षकको नजरमा खरो उत्रन्छन्।

तर, ट्रेलर सम्पादक फिल्मका राम्रा राम्रा अंश ट्रेलरमा समेट्छन्। औसत फिल्मका ट्रेलरलाई पनि कसरी रुचिकर बनाउने प्रयास गर्छन्। निमेष फिल्म औसत छ भनेर जानीजानी ट्रेलर ‘डल’ बनाउन नमिल्ने बताउँछन्।

उनी ट्रेलरलाई छुट्टै कथाजस्तो बनाउने बताउँछन्। फिल्मको प्लटबाट तानेर ट्रेलर भर्सनको प्लट बनाउने उनी भन्छन्, “त्यो कहिले फिल्मसँग मिल्छ, कहिले फरक हुन्छ। जारी २ मा यही शैली अपनाएको थिएँ।”

खान भन्छन्, “मेरो प्रयास दर्शक हलसम्म पुगून् र प्रारम्भिक व्यापार होस् भन्ने हुन्छ।”

ट्रेलर र फिल्मबीच सन्तुलन नमिले फिल्मकै छवि र विश्वसनीयता कमजोर बन्छ। यसले दर्शक पनि निराश हुन सक्छन्।

निमेषका अनुसार दर्शकले हलभित्र छिरेपछि ट्रेलर बिर्सिन्छन्। त्यसपछिको जिम्मा कथाको हुन्छ।

खान एउटा फिल्मको ट्रेलर बुझाएपछि अर्को नयाँ फिल्म काट्नेबारे सोच्न सुरु गरिसक्छन्। त्यसैले भावनात्मक रूपमा ट्रेलर सम्पादक फिल्मको सफलता वा असफलतासँग जोडिएर बस्दैनन्।

त्यसैले ट्रेलरले फिल्म हिट हुन्छ भन्ने ग्यारेन्टी नहुने सम्पादकहरूको भनाइ छ। तैपनि सामान्यतया जुन फिल्म चल्छन्, ती फिल्मका ट्रेलरको चर्चा पनि भइरहेको हुन्छ। तर, ट्रेन्डिङमै आएका ट्रेलरको पनि पूर्ण फिल्म असफल भइरहेका हुन्छन्।

पछिल्लो समय पैसा खर्च गरेरै भए पनि ट्रेलरहरू ट्रेन्डिङमा ल्याउने अभ्यास बढिरहेको छ। टिजर/ट्रेलर हिट बनाउने चक्करमा दर्शकलाई भ्रमित पार्ने आरोप पनि लाग्ने गरेको छ। हालै बिगुलको टिजरमा फिल्ममा समावेश नै नभएका कुरा ट्रेलरमा समावेश गरेको भन्दै सोही फिल्मकी अभिनेत्री बेनिसा हमालले फेसुबक स्टेटस नै लेखिन्।

उनले फिल्ममा नभएका दृश्य राखेर गलत प्रचार गरिएको भन्दै लेखेकी छन्– ‘फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु। यदि फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टिजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ।’

अभिनेत्री हमालले टिजरको सन्दर्भमा भनेको कुरा मननीय छ। ट्रेलर र फिल्मबीच सन्तुलन नमिले फिल्मकै छवि र विश्वसनीयता कमजोर बन्छ। यसले दर्शक पनि निराश हुन सक्छन्।