वीरगन्ज। पर्सा प्रहरीले २४० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा प्रहरीले शनिबार राति वीरगन्ज महानगरपालिका २२‚ जगन्नाथपुर हाट सडकखण्डबाट चरेस बरामद गरेको हो। जाँचका क्रममा हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना.३ख ५०१३ नम्बरको ट्रकबाट चरेस बरामद भएको प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।
जाँचका क्रममा ट्रकको क्याबिनमाथि विशेष किसिमले बनाइएको फल्स बटम फोड्दा प्लास्टिकले बेरिएका पोकामा २४० केजी चरेस फेला परेको उनले बताए।
प्रहरीले ट्रक चालक मकवानपुर थाहा नगरपालिका ११ का २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २९ वर्षीय नवाज लोलाई नियन्त्रणमा लिएको छ। बरामद चरेस, ट्रक र पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चरेस ओसारपसारमा संलग्न अन्य व्यक्ति र नेटवर्कबारे खोजी तीव्र बनाएको छ।