काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

प्रदेश

प्रदेशसभाको गरिमा बढाउँदै संघीयता बलियो बनाउने चुनौती

६ पुष २०८२
आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीहरूलाई पढाइरहेका नवनियुक्त सभामुख रामअशिष यादव।
अ+
अ-

मधेस प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन्। कक्षा शिक्षणबाट सुरु भएको उनको यात्रा प्रदेश सभाको सभामुखसम्म पुगेको छ। कुनै बेला काभ्रेको ज्याम्दीस्थित बागदेवी माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक थिए रामअशिष। पछि, सरुवा भएर जनकपुरधाम आए। जनकपुरधाममा उनले शिक्षण र पत्रकारितालाई सँगै अघि बढाए।

रेडियो नेपालसहित विभिन्न सञ्चारमाध्यममा काम गरेका यादवले जनकपुरमा दैनिक पत्रिका निकाल्नेदेखि एफएम, टेलिभिजनसमेत चलाए। मधेसका मुद्दा, शिक्षाको सुधार अनि भाषा, पहिचान र अधिकारका विषयमा उनले पत्रकारिताको माध्यमबाट आवाज उठाए। त्यही क्रममा उनी २०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषाको सभापति पनि भए। जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनको हेराइमा नवनिर्वाचित सभामुख यादव जनकपुरका एक मिलनसार र शालीन व्यक्तित्व हुन्। उनको कार्यकालमा मधेसको सदनको साख बढ्ने सुमनको अपेक्षा छ।

पछिल्लो समय उनी जनकपुर सफाइ अभियानमा सक्रिय थिए। कुनै बेला फोहोरको पर्यायजस्तो भएको जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगा सागर सरसफाइमा यादवले नेतृत्वदायी भूमिका खेलेका थिए। त्यस अभियानले गंगा सागरको रूपरंग नै बदल्यो। रामअशिषको सफाइ अभियानलाई जनकपुरका उनका साथी र स्थानीयले पनि साथ दिएका थिए। गंगा सागर सफा भएपछि गंगा आरतीको सुरुआत गराउन पनि यादवको महत्त्वपूर्ण भूमिका थियो। २५ जेठ २०७१ मा गंगा दशहराको अवसरमा सुरु गरिएको गंगा आरती जनकपुरको आकर्षण मात्र नभई पहिचान नै बनिसकेको छ। अहिले हरेक साँझ आयोजना हुने गंगा आरतीमा जनकपुर आउने स्वदेशी तथा विदेशी पर्यटक झुम्मिने गरेका छन्।

मधेस प्रदेशका नवनियुक्त सभामुख रामअशिष यादव

सभामुख यादव जनकपुरधामबाट तीन किलोमिटर पूर्वतिरको कनकपट्टिका बासिन्दा हुन्। गाउँकै स्कुलबाट एसएलसी गरेका उनले स्नातकसम्म अध्ययन गरेका छन्। क्याम्पसको छात्र हुँदा यादवले गाउँको सरसफाइ र छोराछोरी पढाऊ अभियान पनि चलाएका थिए।

समाजसेवा र राजनीतिमा सक्रिय हुन यादवको पारिवारिक पृष्ठभूमिले पनि योगदान गरेको छ। उनका जेठा दाजु प्रधानपञ्च र माहिला दाजु गाविस अध्यक्ष थिए। दाजुहरूले गरेको काम देखेर उनलाई समाजसुधार र राजनीतिमा लाग्न प्रेरणा मिलेको यादवलाई नजिकबाट चिन्ने स्थानीय अमर चन्द्र अनिल बताउँछन्। उनी भन्छन्, “मधेसमा सुशासन र समृद्धि ल्याउने हुटहुटी भएको नेता हो। उहाँलाई पारिवारिक वातावरणले समाजसेवा र राजनीतिमा लाग्न प्रेरित गरेको हो।”

२०४५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा लागेका यादव सफाइ अभियान चलाएपछि तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए। यादव फोरमबाट पहिलो प्रदेशसभाको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भए। त्यसपछि पार्टीले उनलाई संसदीय उपनेताको जिम्मेवारी दियो।

जनकपुरको गोरधोई पोखरीको सरसफाइ गरिरहेका यादव

पहिलो कार्यकालमा उनी सामाजिक र सार्वजनिक सरोकारका मुद्दामा सदनमा सशक्त आवाज उठाउने प्रदेशसभा सदस्यमध्ये एक थिए। उनले प्रदेशका बेथितिविरुद्ध निरन्तर आवाज उठाए। मातृभाषालाई प्राथमिकता दिने उनी मधेसको संस्कृति र पेचिलो वातावरणीय मामिलामा पनि बोल्छन्।

आफ्नो निर्वाचन क्षेत्रमा वृक्षरोपणका लागि बिरुवा वितरण गरिरहेका यादव

यादवको कामलाई नागरिकले मन पराएकै नतिजा हो– उनी सोही क्षेत्रबाट दोस्रोपटक प्रत्यक्षमा निर्वाचित हुनु। दोस्रोपटक निर्वाचित भएपछि पार्टीले उनलाई प्रमुख सचतेकको जिम्मेवारी दियो। जनकपुरमा सक्रिय अभियन्ता सुरेश शर्मा भन्छन्, “उहाँ शिक्षा, समाजसुधार, पर्यावरणको सुधारमा निरन्तर सक्रिय नेता हो। उहाँसँग मधेसको समृद्धिमा स्पष्ट भिजन छ।”

संघीयता बोझिलो भयो भन्दै प्रदेशको चर्को आलोचना बढेको बेला यादवले प्रदेशसभा हाँक्ने जिम्मेवारी पाएका छन्। यसअघिका सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको भनी सात राजनीतिक दलले प्रदेशसभाको दुईतिहाइ मतले हटाएका थिए। मण्डललाई हटाएका तिनै सात दलले यादवलाई सभामुख निर्वाचित गरेका छन्। त्यसैले प्रदेशसभालाई मर्यादित र प्रभावकारी बनाउने मात्र होइन, प्रतिपक्ष र सत्तापक्षबीच सन्तुलन कायम गर्ने जिम्मेवारी पनि उनको काँधमा छ। उनी भन्छन्, “संघीयतालाई बलियो बनाउन कार्यपालिकासँगै व्यवस्थापिकाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। म दुवैबीच सन्तुलन र समन्वय गरेर संघीयतालाई बलियो बनाउन सक्रिय हुन्छु।”