काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँचजना व्यावसायिक फोटो पत्रकारलाई सम्मान गरेको छ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतित्यमा आज (आइतबार) भएको कार्यक्रममा विभिन्न पाँच विधामा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ प्रदान गरेको हो।

एनएफपीजेले ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नवीनबाबु गुरुङ, ‘पर्यावरण-पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुवास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरेको हो।

त्यस अवसरमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हार्तम्छालीले ‘फोटोग्राफी’ समाजमा सबैभन्दा सरल, छिटो, जीवन्त र प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गरी व्यावसायिक ढङ्गबाट अघि बढ्न सुझाव दिए।

एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले देशभर क्रियाशील फोटो पत्रकारहरूको सामाजिक तथा पेसागत सुरक्षा, व्यावसायिक सशक्तीकरण र सूचना प्रविधिको विकाससँगै आधुनिक प्रविधिमा आधारित क्षमता विकासलाई प्राथमिकता दिँदै संगठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ र महासचिव घनश्याम श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुत एनएफपीजेको विशेष पहलमा सङ्गठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी दिए।

कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार-२०८२’ एनएफपीजेका सचिव प्रवीन कुलुङ राई र ‘संस्थागत एनएफपीजे प्रेसिडेन्ट अवार्ड-२०८२’ उपाध्यक्ष सुनील शर्मालाई प्रदान गरिएको थियो।

अवसरमा एनएफपीजेका पूर्वअध्यक्षहरू कवीन्द्रमान शाक्य, राजभाइ सुवाल, राजेन्द्र चित्रकारसहित वरिष्ठ फोटोपत्रकार एवं जिल्ला प्रतिनिधिहरूको उपस्थिति थियो।