काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मंसिरमा कमजोर देखिएको छ।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा ५ पुससम्मको तथ्यांकअनुसार मंसिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन। १२ मंसिरदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले ५ पुससम्म २८ लाख ७८ हजार ५३६ रुपैयाँ मात्र कमाइ गरेको छ।

एकता पौडेलले निर्देशन गरेको चलचित्र हर्षका लागि जम्मा आठ हजार ८६६ वटा टिकट बिक्री भएका छन्। चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन्।

१८ मंसिरदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू’ ले सोही अवधिसम्म २१ लाख ४८ हजार ७०२ रुपैयाँ कमाइ गरेको छ। सुशान्त गौतमले निर्देशन गरेको चलचित्रको ६ हजार ८५० वटा टिकट बिक्री भएका छन्।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायत कलाकारको अभिनय छ। ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्र बनाएका निर्माता विनोद पौडेलको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल बन्यो।

२६ मंसिरदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोही अवधिमा ६ लाख ६८ हजार ६३३ रुपैयाँ कमाइ गरेको छ। उक्त चलचित्रको कुल दुई हजार १०९ वटा टिकट बिक्री भएका छन्। शोभित बस्नेतले निर्देशन गरेको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन्।

२६ मंसिरमा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले चार लाख एक हजार ३४० रुपैयाँ र ‘चिराग’ ले ६८ हजार ४५० रुपैयाँ कमाइ गरेको तथ्यांक ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख छ। उल्लेखित कमाइ गएको ५ पुसको बेलुकी ११:५९ मिनेटसम्म नेपालभर भएको हो।

“विगतलाई हेर्दा पनि मंसिर र पुसमा प्रदर्शन भएका चलचित्रले व्यावसायिक रूपमा नयाँ रेकर्ड बनाउने गरेका छैनन्। यद्यपि माघदेखिको समय भने राम्रो मानिन्छ। किनकि चिसो कम हुने भएकाले नेपाली चलचित्रका निर्माताले उक्त समयलाई चलचित्र प्रदर्शन गर्न उपयुक्त मान्ने गरेका छन्। यद्यपि, कथावस्तुले आकर्षित गरे चलचित्रको व्यापार आफैँ बढ्छ‚” वितरक श्रेष्ठले भने। -रासस