काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलास्थित हिमाली बस्ती याङ्मामाका पशुपालन किसान बर्सेनि जंगली जनावर ब्वाँसोका कारण पीडित हुँदै आएका छन् ।

उनीहरूलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यस वर्ष केही दिन अघि यांमाकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् । अन्य पशु पालकसमेतका गरी यस वर्ष हालसम्म नौ चौरी मरेका छन् ।

फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दा बढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए । बर्सेनि हुने यस्ता आक्रमणका कारण यहाँका किसानले आर्थिक क्षति बेहोर्नु परेको छ । एउटा चौरीको मूल्य कम्तीमा रु. ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्न जान्छ ।

यसरी ब्वाँसोको आक्रमणबाट बर्सेनि घाटा बेहोर्नुपरे पनि यसको नियन्त्रण तर्फ राज्यले खासै चासो नदिएको स्थानीयवासीको गुनासो छ । राहत उपलब्ध गराइए पनि अत्यन्त न्यून मात्र पाइने गरिएको पशुपालन लोप्साङ शेर्पाको भनाइ छ । नौ घरधुरी मात्र रहेको यांमाका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो । यही पेसाबाट जीविकोपार्जन गर्दै आएका उनीहरूलाई ब्वाँसोको आक्रमणले लामो समयदेखि दुःख दिँदै आएको छ ।

विशेष गरी जाडो याममा ब्वाँसोको हुल नै यस क्षेत्रमा आउने गरेका छन् । यहाँका बासिन्दाले वर्षौँदेखि यसै गरी ब्वाँसोबाट सास्ती खेप्नुपरेको छ । यसरी पशु चौपाया मरेका परिवारलाई उचित राहतको प्रबन्ध गर्न न्यून बजेटका कारण समस्या हुने गरेको अध्यक्ष शेर्पाले बताए । बजेट अत्यन्तै कम हुने भएकाले पशु पालकका समस्या उचित रूपमा सम्बोधन गर्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

संघ, प्रदेश सरकारले नै यसको नियन्त्रण र राहतमा ध्यान दिनुपर्नेमा अध्यक्ष शेर्पाको जोड छ । उक्त ब्वाँसोलाई स्थानीयले च्याङु भनेर चिन्ने गरेका छन् । वर्षातका समयमा भने उक्त ब्वाँसो देखिने गरेको छैन । पशुपालन लोप्साङ शेर्पाका अनुसार वर्षातको समयमा यो जनावर चीनतर्फ जाने वा अन्यत्र कता जान्छ भन्ने यकिन हुँदैन ।

हिउँ चितुवा जस्तै यस जनावरमा पनि (ट्याकिङ उपकरण) जडान गरी यसको आवागमन र आचरणबारे अध्ययन गर्न सकिएमा प्रभावकारी हुने अध्यक्ष छेतेन शेर्पाले सुझाव दिए ।