काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले २१ फागुनको चुनाव तलमाथि भए मुलुक अनिश्चयतिर जाने धारणा राखेका छन्।

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन्। “मुलुकमा अब खेलवाड गरिरहने अवस्था छैन। २१ फागुनको चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ‚” उनले भने‚ “त्यही भएर २१ फागुनको चुनाव सफल पार्नु सबै नेपालीको दायित्व हो। यो सरकार आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गरेर बिदा हुन्छ।”

समाजले राष्ट्रपति पौडेललाई भेटेर बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समयसम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल-मान्यता र नागरिक सर्वोच्वताको खिलाफ हुने हुँदा घोषित मितिमै निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिएको थियो।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा समाजका तर्फबाट संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, सल्लाहकार रामप्रसाद जोशी, कोषाध्यक्ष चन्द्रमणि बन्जारालगायतको सहभागिता रहेको उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन्।