काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यसहित ‘इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एन्ड अवार्ड्स’ (आईएनएफएफए) को पहिलो संस्करण सन् २०२६ फेब्रुअरी १ देखि ३ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने भएको छ। आयोजक संस्थाले नेपाली फिल्म उद्योगका लागि यो कार्यक्रम ऐतिहासिक अवसर हुने विश्वास व्यक्त गरेको छ।

आईएनएफएफएले अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको पहुँच विस्तार गर्नुका साथै फिल्मकर्मीहरूबीच सहकार्य र व्यावसायिक सम्बन्ध सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। यस फेस्टिभलका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरूबाट प्रतियोगितात्मक सहभागिताका लागि आवेदन आह्वान गरिएको छ। आवेदन बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ।

फेस्टिभलको विशेष आकर्षणका रूपमा रेड कार्पेट अवार्ड समारोह आयोजना गरिनेछ, जहाँ उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी र समीक्षकहरूको सहभागितामा प्यानल छलफल, फिल्म प्रिमियर, विशेष प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमहरू समेत समावेश रहनेछन्।

जुरी समितिको प्रमुखमा अभिनेता कृष्ण मल्ल रहनेछन् भने जुरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री विपना थापा तथा भारतका थिएटर कलाकार अभतार शाहनी रहेका छन्।

आईएनएफएफएका अध्यक्ष राजेन्द्र घिमिरेले दिल्लीमा हुने यो महोत्सवले नेपाली चलचित्रलाई विश्व बजारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्दै, नेपाली फिल्म र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानको महत्वपूर्ण चरण रहेको बताएका छन्।

महोत्सव निर्देशक (नेपाल) जनकदीप पराजुलीका अनुसार आईएनएफएफएले भारत–नेपालबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउनुका साथै भारतमा रहेका नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकसम्म नेपाली चलचित्रको प्रभाव विस्तार गर्नेछ।

त्यसैगरी आईएनएफएफएकी प्रवक्ता तथा हिमचुली फाउन्डेसन फर आर्ट एन्ड कल्चरकी संस्थापक आकांक्षा शाहले फिल्म प्रदर्शनसँगै प्यानल छलफल, अन्तर्वार्ता र टक शोमार्फत नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, संयुक्त निर्माणका सम्भावना खोज्ने र सांस्कृतिक कूटनीति सशक्त बनाउने उद्देश्य रहेको बताइन्।

अवार्डका लागि सहभागी हुन चाहने फिल्मकर्मीहरूले FilmFreeway प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। साथै नेपाल चलचित्र निर्देशक समाजको कार्यालयमा चलचित्र बुझाउन वा इमेल [email protected] मा गुगल ड्राइभ लिंक पठाउन पनि सकिने जनाइएको छ।