काठमाडौँ। एक युवकले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै सेवाग्राहीलाई ठगी गरेका छन्। आफूलाई शाखा अधिकृत भन्दै उनले जागिर लगाइदिन्छु भन्दै रकम लिएर सर्वसाधारणलाई झुक्यानमा पार्थे।
आफू शिक्षा मन्त्रालयको कर्मचारी भन्दै कागजात देखाई सिंहदरबारलगायत निकायमा पुगेर ठगी गर्ने ललितपुर घर भई काठमाडौँको झोँछे बस्ने २३ वर्षीय समन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई टेकुबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। कार्यालयको टोलीले उनलाई सोमबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।
आचार्यका अनुसार श्रेष्ठले सिंहदरबारलगायत अन्य सरकारी निकायमा नियमित जान्थे। आफैँ उपस्थित भएर वा फोनबाट सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेका थिए।
“शाखा अधिकृत पदमा नियुक्तिपत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोसाकसमेत लगाएर उनी सरकारी कार्यालय जाने गर्थे,” आचार्यले भने, “आर्थिक लाभ लिने प्रयास गर्थे।” उनले बागमती प्रदेश लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति भएको पत्र देखाउने गरेका थिए।
उनले अर्थ मन्त्रालयबाट तलब पाएको पत्र पनि देखाउँथे। यस्ता गतिविधि गरेको गुनासो आएपछि प्रहरीले उनको निगरानी गरेको थियो। उनी नक्कली शाखा अधिकृत भएको थाहा पाएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए।
जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भने‚ “नक्कली शाखा अधिकृत बनेर श्रेष्ठले आर्थिक लाभ लिएकोबारे अनुसन्धान थालिएको छ।” उनका अनुसार श्रेष्ठमाथि लिखतसम्बन्धी कसुर अभियोगमा अनुसन्धान भइरहेको छ।