काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

शीतलनिवास

राष्ट्रपतिले विकसित पछिल्लो राजनीतिक घटनाक्रम, आसन्न निर्वाचनलगायत विषयमा दलहरुको धारणा बुझ्न छलफल गर्न लागेका हुन्।

८ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच शीतलनिवासमा छलफल सुरु भएको छ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न लागेका हुन्।

छलफलमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन्। देउवा‚ ओली र दाहाल पूर्वप्रधानमन्त्री हुन्।

राष्ट्रपतिले विकसित पछिल्लो राजनीतिक घटनाक्रम, आसन्न निर्वाचनलगायत विषयमा दलहरुको धारणा बुझ्न छलफल चलिरहेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले नेपालन्युजलाई जानकारी दिए। उनले भने‚ “राष्ट्रपतिको निम्तामा पहिलोपटक तीन पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीबीच चुनाव र समसामयिक राजनीतिक विषयमा संवाद भएको हो।” जेन-जी आन्दोलनपछि दलहरूबीच हुन लागेको यो पहिलो सामूहिक छलफल हो।

यसअघि राष्ट्रपतिले तीन ठुला दलका दोस्रो, तेस्रो तहका नेताहरुसँग भने औपचारिक छलफल गरिसकेका छन्। प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताहरुले त्यसको आलोचना गर्दै आएका थिए। यसले सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको संवादहीनतालाई अन्त्य गर्ने अपेक्षा गरिएको छ।