काठमाडौँ। काठमाडौं महानगरपालिकाले अनुमति पाए पनि भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया सुरु गरेको छ।
शिक्षा विभागले सूचना जारी गर्दै १०७ वटा नाम मात्रका विद्यालयलाई १५ दिनभित्र सम्पर्क गर्न अल्टिमेटम दिएको छ।
सूचनामा भनिएको छ, “सूचीमा रहेका विद्यालय यदि वास्तवमा सञ्चालनमा छन् भने प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले सूचना प्रकाशन भएको मितिबाट १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गरी पुष्टि गर्नुपर्नेछ।”
१५ दिनमा सम्पर्कमा नआए विद्यालय खारेज गरिने पनि सूचनामा उल्लेख छ। ‘अन्यथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ‚” सूचनामा भनिएको छ।
