काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

८ पुष २०८२
अ+
अ-

सुनसरी। भारतबाट चोरी गरी ल्याई नक्कली नम्बर प्लेट प्रयोग गरेर सञ्चालन गरिरहेको पाँचवटा गाडी कोसी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरी कार्यालयले आज (सोमबार) इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी नियमित जाँच तथा अभिलेख परीक्षणका क्रममा ‘इन्जिन’ नम्बर परिवर्तन, रि-पन्च गरिएको, रङ परिवर्तन, दर्ता अभिलेख नपुगेको तथा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा ती गाडी नियन्त्रणमा लिइएको कोसी प्रदेश ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये को.१ज ११११ नम्बरको गाडी सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर एफ ३१ एल ३२७६४ भए पनि जडान गरिएको इन्जिन नम्बर डीडब्ल्यू ४६०२३ भेटिएको छ। यसको चेसिस नम्बर एमएआईएनभी २ एएफए ४२ ए १०६३३ छ।

त्यसैगरी ना.२च ७२९५ नम्बरको सवारीसाधनमा परिवर्तन गरिएको इन्जिन अभिलेखअनुसार नपाइएको, रङ परिवर्तन गरिएको तथा जीजी ८१ एफ ४१४८४ र जीए ९४ एल ६९४८१ इन्जिन नम्बर उल्लेख रहेको पाइएको छ।

ना.१ज १५८३ नम्बरको सवारीसाधन यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नरहेको तथा सवारी दर्ता किताबसमेत संकलन नभएको पाइएको छ। यसैगरी ना.३च ३९२८ नम्बरको सवारीसाधन कम्पनीबाट आयात नभएको अवस्थामा इन्जिन नम्बर रि-पन्च गरिएको पाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी ग.१च ६६८४ नम्बरको गाडी आयातकर्ता कम्पनीले आयात नगरेको तथा यातायात व्यवस्था कार्यालय गण्डकीले विवरण उपलब्ध नगराएको पाइएको छ। उक्त गाडीको चेसिस नम्बर एमए १ एक्सबी २ जीएफके ७२ई२६५८६ छ।

नियन्त्रणमा लिइएका सबै सवारीसाधन चोरी-पैठारी तथा नक्कली नम्बर प्लेट प्रयोगसँग सम्बन्धित हुनसक्ने आशंकामा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउन तयारी गरिएको उपरीक्षक गिरीले जानकारी दिए।