विराटनगर। विराटनगरका दुई तारे होटलका क्यासिनोमा प्रहरीले छापा मारेको छ। नेपालीलाई क्यासिनोमा छिराएर सामाजिक अपराध गरेको आरोपमा प्रहरीले बिग र रत्ना होटलको क्यासिनोमा छापा मारेको हो।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले आइतबार बिहान राति क्यासिनोमा जुवा खेलिरहेका १४ नेपाली र सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको छ।
विदेशी पर्यटकका लागि मात्रै क्यासिनोमा अनुमति रहेकोमा सञ्चालकहरूको मिलेमतोमा नेपालीलाई समेत जुवा खेलाउने गरेको पाइएको छ। नेपालीलाई छिराउन भारतीय कार्यसमेत बनाइने गरेको रहस्य खुलेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पूर्वाञ्चल विश्वविद्यालयका पूर्वनिर्देशक, होटलका सञ्चालक, जेनजी अभियन्तादेखि ठूला व्यवसायीसम्म रहेका छन्।
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्वनिर्देशक तेजराज गिरी क्यासिनोबाट समातिएको मोरङका प्रहरी उपरीक्षक कवित कटवालले बताए। बिग होटलका निर्देशक हरि भट्ट, सोही होटलका सञ्चालकसमेत रहेर होटलको च्याम्पियन जोन व्यवस्थापन भूमिका खेल्दै आएका रामकृष्ण गौतम र रत्ना होटलभित्र गोल्डेन क्यासिनको प्रबन्धक रहेका रामकृष्ण बस्नेत पक्राउ परेका छन्।
प्रहरीले विराटनगरका रूपेश दाहाललाई पनि पक्राउ गरेको छ। उनी पछिल्लो समय ‘जेन जी’ आन्दोलनका अगुवाका रूपमा चिनिन्छन्। पक्राउ परेपछि उनले आफू क्यासिनोमा ‘डान्सर’का रूपमा काम गर्ने दाबी गरे पनि प्रहरीले त्यसलाई पुष्टि गर्ने कुनै आधार फेला नपरेको जनाएको छ।
त्यसैगरी, प्रहरीले विराटनगरका कृष्णकुमार कुर्मी, विवेककुमार मण्डल, काठमाडौंका राज लामा, सुन्दरहरैंचाका आदेश विक, बुढीगङ्गा घर भएका महमद जाकिर हुसेन, दमकका घनश्याम शर्मा, कटहरीका सुरज राय, उदयपुरका सन्तोष बस्नेत, इटहरीका प्रमोद घिमिरे, विराटनगरका पवन गोस्वामी, विराटनगरका साजन साह, सुरज रायलाई पक्राउ गरेको छ।
“अपरेसनले क्यासिनो सञ्चालक, केही भ्रष्ट कर्मचारी र स्थानीय बिचौलियाबीचको वर्षौंदेखिको ‘सेटिङ’लाई उदाङ्गो पारिदिएको छ,” मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजकुमार कोइरालाले भने।
छापा मार्ने क्रममा क्यासिनो छिर्न नेपालीहरूले भारतीय ‘आधार कार्ड’लाई आफ्नो सुरक्षा कवच बनाउने गरेको पाइएको छ। नेपालको कानुनले नेपालीलाई क्यासिनो प्रवेशमा पूर्णप्रतिबन्ध लगाएको छ। विराटनगरका क्यासिनोमा छिर्नेहरूले खल्तीमा भारतीय आधार कार्ड बोकेर हिँड्ने गरेको पाइएको कटवाल बताउँछन्।
कोइरालाका अनुसार, विराटनगरका अधिकांश नियमित जुवाडे (व्यापारी र युवा) ले भारतीय आधार कार्ड बनाएका छन्। “उनीहरू गेटमा इन्डियन हौं भन्दै आधार कार्ड देखाएर छिर्छन्।
यसपालि हामीले केवल आधार कार्डमा विश्वास गरेनौँ, डबल भेरिफिकेसन गर्यौं,” कोइरालाले भने, “जब हामीले उनीहरूको एटीएम कार्ड, ड्राइभिङ लाइसेन्स र अन्य परिचय–पत्र माग्यौं, तब उनीहरू नेपाली भएको पुष्टि भयो अनि रङ्गेहात समातिए।’’
प्रहरीले आइतबार बिहान राति बिग होटलको ‘च्याम्पियन जोन क्यासिनो’ र रत्न होटल भित्रको ‘गोल्डेन क्यासिनो’ बाट २० जनालाई नियन्त्रणमा लिएको थियो। त्यसमध्ये तीन जना क्यासिनोमा काम गर्ने कर्मचारी रहेका थिए। पक्राउ परेकामध्ये तीन जना नेपालीलाई भित्र प्रवेश गराएर जुवा खेलाउने र १४ जना खेल्न आउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
लामो समयदेखि क्यासिनोले नेपालीको घरबार उजाड बनाएको गुनासो प्रशासनमा पुग्ने गरेको थियो। “हामीलाई पटक–पटक पीडित परिवारका सदस्यहरू आएर गुनासो गरिरहनुभएको थियो। हाम्रो घरबार सकियो, छोरो र श्रीमानलाई क्यासिनोको लत लाग्यो, प्रशासनले किन नहेरेको भनेर रुवाबासी हुन्थ्यो,” सहायक प्रजिअ कोइरालाले भने, “यही कुरालाई मध्यनजर गरेर छापा मारिएको हो।”
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले कानूनलाई चुनौती दिने कसैलाई पनि नछोडिने बताए। एसपी कटवालले पक्राउ परेकाहरूमाथि जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान भइरहेको बताए।
“हामीले नक्कली भारतीय आधार कार्ड प्रयोग गरेर क्यासिनो छिर्ने गिरोहको पहिचान गरिरहेका छौँ। विदेशीका लागि मात्र सञ्चालित ठाउँमा नेपालीलाई छिराउनु अपराध हो,” उनले भने।