काठमाडौँ। प्रहरीले यातायात कार्यालय काठमाडौँको गुर्जुधारा‚ भक्तपुरको राधेराधेमा रहेको ट्रायल सेन्टरलगायत स्थानमा बिचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढीका ६१ वर्षीय झमकलाल श्रेष्ठ, बनेपाका ३३ वर्षीय अनिमेष अवा, दोलखाका ३३ वर्षीय वासु खड्का, कमल गाउँपालिका झापाका ४७ वर्षीय भीमबहादुर नेम्वाङ, काठमाडौँ गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेशवरी मनहोराका ३६ वर्षीया शर्मिला चौलागाई, सिन्धुपाल्चोक मेलम्चीका ४१ वर्षीया दीपा कटुवाल, पर्वत जलजलाका ५० वर्षीय दुर्गाप्रसाद न्यौपाने, काठमाडौँ गुर्जुधाराका २९ वर्षीय रन्जित महर्जन, नवलपरासी बर्दघाटका ३० वर्षीय अर्जुन चौधरी, सिन्धुपाल्चोक चौताराका १९ वर्षीय दिवस लामा, इटहरीका ३१ वर्षीय सरोज ढुंगाना‚ काभ्रे रोशीका ३७ वर्षीय सन्तोष स्याङ्तान तथा पनौतीका ४० वर्षीय दिलीप खड्गी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनले भने‚ “पक्राउ परेकाहरूले यातायात व्यवस्था कार्यालय राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाडौँ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा बिचौलियाको काम गरी सेवाग्राहीलाई दुःख दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारीसमेतको दैनिक काममा प्रभाव पार्ने कार्य गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।”
पक्राउ परेकालाई आज (बुधबार) थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको आचार्यले बताए।
यसैगरी उनीहरूले लिखित तथा ट्रायल फेल भएकालाई यातायात कार्यालयका कर्मचारीसँग चिनजान छ‚ पास गराई दिने भनी १० हजार रुपैयाँसम्म लिने गरेको‚ लाइसेन्स प्रिन्ट तथा ब्लुबुकलगायत कागजात नवीकरण सहज तरिकाबाट गरिदिने भनि अतिरिक्त रकम लिने गरेको पनि आचार्यले बताए।
मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाइ अतिरिक्त रकम लिने गरेको। यातायात कार्यालयसँग सम्बन्धित काममा कर्मचारीको सेटिङमा छिटोछरितो गराइदिने भन्दै बिचौलियाजन्य अन्य कार्य गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।