काठमाडौँ। ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा ११ डिसेम्बरदेखि १४ सम्म तीन दिन भारतीयहरूको भिड लाग्यो। ती भारतीयलाई क्यासिनोमा व्यावसायिक रूपमै जुवा खेलाउन महाकाया ग्रुप भारत सक्रिय थियो।
प्रहरीका अनुसार जुवाको व्यावसायिक कार्यक्रम लिएर महाकाया ग्रुपका सुरेश महाजन नेपाल आएका थिए। नेपालमा उक्त कार्यक्रमको संयोजन नेपालस्थित बीपी ग्रुपका विनोद भन्ने जनार्दन उप्रेतीलाई जिम्मा दिइएको थियो।
ती भारतीयलाई होटेल मेरियट, अलोफ्ट र र्याडिसनमा राखियो। मेरियटका ५०, अलोफ्टका ४० र र्याडिसनका २० वटा कोठा बुक गरियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार ती होटलमा १० डिसेम्बरमै भारतीयहरू आउन थालेका थिए। उनीहरू सोही दिन ठमेलको क्यासिनो वाल्डोमा पुगेका थिए।
ती भारतीयलाई सातदेखि १० वटा टेबल बुक गरेर समूह-समूहमा तीन दिन क्यासिनो खेलाइएको थियो। नेपालमा विदेशीलाई मात्रै क्यासिनो खेलाउन पाइने नियम छ। यसरी भारतीय नागरिक आएर क्यासिनो खेल्दा स्वाभाविक रूपमा पर्यटनमा प्रवर्द्धनमा टेवा पुग्ने र आर्थिक लाभ हुने अपेक्षा गरिन्छ।

तर, महाकाया ग्रुपले पर्यटन र आर्थिक लाभको बहाना रचेको मात्रै थियो। उसले ती भारतीयलाई क्यासिनो खेलाएर पैसा पनि ठग्यो र गैरबैंकिङ माध्यमबाट आर्जित मुनाफा पनि भारत पुर्यायो।
यस्तो जानकारी पाएपछि प्रहरीले अपरेसन गरी संलग्न भारतीय र नेपालीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय सुरेश महाजन, दिने बर्मा, विक्रम सिंह र नेपाली चिजा खड्का र भवानी पाण्डे छन्। प्रहरीले पक्राउपछि उनीहरूलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
सात ग्रुपको लिडर महाकाया, २०० भारतीय वाल्डो क्यासिनोमा
प्रहरी उपरीक्षक भट्टराईका अनुसार तीन दिनको कार्यक्रममा २०० भारतीयलाई वाल्डो क्यासिनो पुर्याइएको थियो। क्यासिनो कार्यक्रमको आयोजक महाकाया ग्रुपका सञ्चालक सुरेश महाजन हुन्। महाकाया ग्रुपको संयोजनमा भारतका पाँच र नेपालको एउटा ग्रुप यो कार्यक्रममा सहभागी भएका थिए। भारतीय ग्रुपमा एनटी, नाटिक, आरजी, एसजी र सेठी छन्। नेपालको बीपी ग्रुप हो र त्यसका सञ्चालक जनार्दन उप्रेती हुन्। उनी फरार छन्।
भारतबाट महाजनले व्यावसायिक डमी खेलाडी लिएर नेपाल आएका थिए। नीरजकुमार, गौरव खत्री, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, हीराशेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश खेलाडीका रूपमा आएका थिए। तीमध्ये मुख्य खेलाडी बर्मा र सिंह हुन्।

बीपी ग्रुपले चिजा खड्का, भवानी पाण्डे, प्रतिमा भुजेल र प्रेरणा नाम गरेका महिलालाई कार्यक्रममा सहभागी गराएको थियो। उनीहरू तास बाँड्ने र रकम संकलनमा खटिन्थे।
७५ वर्षीय महाजन रोहिणी दिल्लीका हुन्। उनले दुई वर्षयता भारत, श्रीलंका, भियतनाम र कम्बोडियाका क्यासिनोमा जुवा खेलाउने कार्यक्रम सञ्चालन गरिरहेका छन्। नेपालमा भने उनले पहिलोपटक यस्तो कार्यक्रम ल्याएको भट्टराईले बताए।
यो ग्रुपसँग क्यासिनो प्राइडका सञ्चालक विनय साह र दावा सेट्टी भन्ने दावा शेर्पालगायत नेपालीको सम्पर्क रहेको अनुसन्धानमा खुलेको छ। वाल्डो क्यासिनोका सञ्चालक फरार छन्। “उनीहरू फरार रहेकाले खोजी भइरहेको छ,” भट्टराईले भने।

उप्रेतीले क्यासिनो कार्यक्रममा नेपालका तर्फबाट मुख्य भूमिका निभाएका थिए। उनी खेलाडी र कर्मचारीलाई होटेल, जहाजको टिकट र टेबुल बुकिङमा संलग्न थिए। उनी आफैँ पनि जुवा खेल्थे भने महाकाया ग्रुपका खेलाडी र आफ्ना कर्मचारीलाई व्यवस्थापन गर्थे।
आँखामा लेन्स, हातमा चुम्बकीय तास
क्यासिनो खेलमा भारतीय खेलाडी ३७ वर्षीय दिनेश बर्मा र ३१ वर्षीय विक्रम सिंहलाई सहभागी गराइएको थियो। उनीहरू मुख्य खेलाडीको रूपमा क्यासिनोमा बस्थे।
बर्माले भारतबाटै ५० प्याकेट तास र चार सेट लेन्स खरिद गरेर ल्याएका थिए। जब क्यासिनोको टेबलमा भारतीयहरू बस्थे दुवै जनाले आँखामा लेन्स लगाएर तयारी अवस्थामा खटिन्थे। अन्य डमी खेलाडीले चुम्बकीय तास बोक्थे र तीन पत्ती बाँड्थे। बर्मा र सिंहले लेन्सबाट ती चुम्बकीय तासमा रहेको विवरण देखिन्थ्यो।
“जतिपटक खेलाइन्थ्यो, भाडामा ल्याइएका डमी खेलाडीले मात्रै जित्थे, भारतबाट आएका खेलाडी हार्थे,” भट्टराई भन्छन्। ती भारतीयहरू अत्यधिक रकम खर्च गर्न सक्ने क्यासिनोमा लत लागेका खेलाडी रहेको भट्टराई बताउँछन्।
यसरी तीन दिन जुवा खेलाउँदा चुम्बकीय तास मात्रै बाँडिएको थियो। व्यावसायिक तरिकाले क्वाइन खरिद गरेर खेलाडीले क्यासिनो खेलेनन्। उठेको महाकाया र बीपी ग्रुपका प्रतिनिधिले सिधै गैरबैंकिङ माध्यम (हुन्डी)बाट रकम भारत पठाउँथे। यसरी काम गरेबापत महायानका ग्रुपका प्रतिनिधिले बीपी ग्रुपबाट १५ लाख नगद बुझेको पाइएको छ।

“विवरण उपलब्ध हुनै बाँकी छ, प्रारम्भिक अनुसन्धानमा एक करोड ७० लाख रुपैयाँ गैरबैंकिङ माध्यमबाट भारत पुगेको देखिएको छ,” भट्टराई भन्छन्, “यसरी गैरबैंकिङ माध्यमबाट रकम विदेशिँदा नेपाल सरकारले पाउनुपर्ने राजस्व चुहावट भएको देखिन्छ।”
भारतबाट क्यासिनो खेल्न आउने व्यक्तिले रकम उतै छोड्थे। भारतबाट हुन्डीमै नगद नेपाल भित्रिन्थ्यो, क्यासिनोमा संकलन भएको रकम पनि हुन्डीमै भारत जान्थ्यो। यस्तो कारोबार मौलाउँदा गैरबैंकिङ प्रणाली सक्रिय भई मुद्रा तस्करीको जोखिम अत्यधिक रहन्छ। “क्यासिनो पर्यटनको नाममा कार्यक्रम आयोजना हुने, नेपालले आम्दानीको करसमेत प्राप्त नगर्ने, गैरबैंकिङ मुद्रा कारोबार हुँदा सम्पत्ति शुद्धीकरणजन्य कसुर बढ्दा ग्रे-जोनमा रहेको मुलुक थप समस्यामा पर्न सक्छ,” परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा भन्छन्। पक्राउ परेकाहरूलाई फकाएर, झुक्याएर वा नियतवश ठगी, राजस्व हिनामिनालगायत कसुर आकर्षित गरी मुद्दा चलाइएको थापाले बताए।