काठमाडौँ। दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गाभाडा दिने प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई काठमाडौँ जिल्ला अदालतले ६ लाख रुपैयाँमा छाड्न आदेश दिएको छ। साथै पूर्वसह-सचिव लेखबहादुर कार्कीलाई भने १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ।
जिल्ला न्यायाधीश रामचन्द्र खड्काको इजलासले बुधबार थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश गरेको हो।
नेपाल ट्रस्टको जग्गा थामसेर्कु कम्पनीलाई भाडामा लगाउँदा अनियमितता गरेको भन्दै अनुसन्धानका लागि प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति दिँदै म्याद थपेको थियो।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र दफा ७२ समेतका आधारमा लेखबहादुरबाट दश लाख रुपैयाँ र अर्जुनकुमारबाट ६ लाख रुपैयाँ धरौट वा जेथा जमानत वा सोबराबरको बैंक जमानत दिए लिई तारेखमा राख्न आदेश भएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।