काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

योजना अनुगमन

‘निर्माण सम्पन्न पूर्वाधारको संरक्षण, सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि तर्जुमा गर्न आवश्यक छ’

९ पुष २०८२
स्वरुप फेरिएको खुलामञ्च।
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनीता डंगोलले कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाइने बताएकी छन्। महानगरपालिकाले निर्माण गरेका सार्वजनिक पूर्वाधारको संरक्षण, सञ्चालन र व्यवस्थापनका लागि कार्यविधिको आवश्यकता महसुस भएको उनको भनाइ छ।

महाङ्काल सत्तल र खुलामञ्चको उनले बुधबार अनुगमन गरिन्। “महानगरपालिकाले उद्यान तथा पार्क, पोखरी, मठ-मन्दिर, सत्तल, चोकलगायत सार्वजनिक उपयोगका धेरै संरचना निर्माण गरेको छ। यसका लागि धेरै खर्च गरिएको छ‚” उनले भनिन्‚ “नागरिकबाट संकलन भएको राजस्वबाट निर्माण गरिएका यस्ता संरचनाको दिगो उपयोग गर्न, स्वामित्व र संरक्षणका लागि समुदायको सहभागिताजस्ता व्यवस्थामा सुनिश्चित गर्न कार्यविधि चाहिन्छ।”

उनले प्रक्रिया थालनी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरुलाई निर्देशन पनि दिइन्। अनुगमन क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग र योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीहरु सहभागी थिए। खुलामञ्चको अनुगमनका क्रममा वडा २८ का अध्यक्ष, वडा २७ का कार्यवाहक अध्यक्ष, वडासदस्यहरु, स्थानीय र क्लबका अधिकारी पनि सहभागी थिए।

महाङ्काल सत्तल निर्माणको निरीक्षणका क्रममा कालोपत्रे गरेर अग्लिँदै गएको सडक र सत्तल क्षेत्रको जमिनको सतह मिलाउने, परिसरमा पानी पुनःभरण प्रणाली राख्ने, काठका चुकुल बलियो बनाउने, थामसँग पर्खाल र अन्य भाग एक ढिक्का बनाउनेलगायत विषयमा छलफल गरिएको थियो। यस्तै खुलामञ्चको संरक्षण र उपयोगमा स्थानीय बासिन्दा तथा क्लबहरुको सहभागिताका विषयमा कुराकानी भएको थियो।

खुलामञ्चनजिक आरसीटी क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, एनआरटी क्लब, मित्र युवालगायत क्लब छन्। अनुगमनका क्रममा क्लबका प्रतिनिधिहरुले महानगरपालिकाको मार्गनिर्देशनअनुसार यसको संरक्षणका लागि दायित्व लिने र उपयोग दाबी गर्ने बताएका थिए।

महाङ्काल चौघेरा सत्तल
टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माणका लागि २४ मंसिर २०८१ मा शिलान्यास भएको हो। पुनर्निर्माणका लागि ४ फागुन २०८० मा सार्वजनिक सूचना जारी गरिएको थियो। यसबाट पाँचवटा प्रस्ताव पेस भएका थिए। यीमध्ये चारवटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए। निर्माण पक्षलाई १९ असार २०८१ मा कार्यादेश दिइएको थियो। सत्तलको निर्माण अवधि १९ असार २०८३ सम्म हो।

१० करोड १० लाख ७९ हजार २७९ रुपैयाँ लागत अनुमान भएको योजना सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको विनायक/एसपी/बोहोरा जेभी निर्माण कम्पनीले १० करोड पाँच लाख १० हजार ६१९ रुपैयाँमा निर्माण पुनर्निर्माणको काम गरिरहेको छ। परम्परागत निर्माण सामग्री र शैली पुनर्निर्माणको मुख्य विशेषता हो।

इन्जिनियर रवीन्द्र रिजालका अनुसार सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलमा पुनर्निर्माण भइरहेको हो। हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ। यसमा जमिन तलामा नौवटा कोठा छन्। पहिलो तलामा तीनवटा सभाकक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष छ। यसमाथि बुइँगल छ। रिजालका अनुसार वि.सं. १९९७ सालमा खिचिएको तस्बिरका आधारमा पुनर्निर्माण भइरहेको हो।

मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल छ। पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेशद्वार छ। सत्तलको छानो झिँगटीको हुनेछ।

महाङ्काल मन्दिर धार्मिक तथा सामाजिक सम्बन्ध
मन्दिरका पुजारी दीपकहर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब १‚३०५ वर्षअगाडि निर्माण भएको हो। मन्दिर स्थापनाबारेमा चलेको किंवदन्ती सुनाउँदै उनले भने‚ “भगवान् शिवको आकाश यात्रा र तान्त्रिक शाश्वत बज्रसँग मन्दिर स्थापनाको कथा जोडिएको छ। शाश्वत बज्र मन्त्रसिद्धि महाविहार (सवल वहाल) मा घाम तापेर बसिरहेका बेला सबैतिर घाम थियो तर उहाँ बसेको ठाउँमा घामको प्रकाश छेकियो। घामको ताप कसरी छेकियो भनेर साधनाबाट हेर्दा आकाशमा ठूलो आकारको शक्ति देखियो। यो शक्तिलाई उनले तान्त्रिक शक्तिले खिचेर तल ताने। तल आएपछि उनलाई थाहा भयो कि तानेको शक्ति त शिव शक्ति रहेछ। दुष्कर्म गर्नेहरुको संहार गरेर घाँटीमा टाउकाको माला लगाएर आकाश मार्गबाट शिव तिब्बततर्फ गइरहनुभएको थियो। यो देखेर तान्त्रिकले नेपाल मण्डलमा पनि जनतालाई दुःख, महामारी र समस्या भएकाले यहाँका सबैको सुख शान्तिका लागि यतै बसिदिन आग्रह गरे। तान्त्रिकको आग्रह सुनेपछि शिवले तीन त्रिभुवनको अवस्था बुझ्नुपर्ने भएकोले सधैँ यहीँ बसिरहन नसक्ने बताएर आफू हरेक मंगलबार र शनिबारचाहिँ आउने बताउनुभयो। पहिले त मंगलबार र शनिबार मात्र मन्दिरमा श्रद्धालु आउने गर्दथे। अहिले सबै दिन आउँछन्।”

शाश्वत बज्रले खिच्दा महाङ्काल पुरानो बसपार्कबाट पुतलीसडक जाने सडक खण्ड अद्व्रैत मार्गमा आएको बताइन्छ। प्रहरी कार्यालयसँगै अहिले महाङ्कालको सानो मन्दिर छ। त्यहाँबाट टुँडिखेलमा सार्नुसँग नेपालकी छोरी भृकुटी तिब्बतबाट फर्कँदा टुँडिखेल छेउमा बास बस्ने गरेको भन्ने भनाइसँग जोडिन्छ। यसबाहेकका अन्य कारण खोजीको विषय छ।

यहाँ हिन्दु र बौद्ध धर्मावलम्बीले आस्थापूर्वक पूजा आराधना गर्ने गर्नुहुन्छ। बौद्धमार्गी तिब्बतीका लागि यो तीर्थस्थल हो। माडवारी समुदायले शनिदेवका रुपमा महाङ्कालको पूजा गर्ने गर्छन्। महाङ्कालको दर्शन गरे जीवनमा संकटको समय आएका व्यक्तिहरुले दुःख, पीडा र समस्याबाट छुटकारा पाउन सक्छन् भन्ने विश्वास छ। खराब कर्मको प्रायश्चित गर्दै सुधारको बाटोमा लाग्ने आशीर्वाद प्राप्त गर्न श्रद्धालुहरु मन्दिरको दर्शन गर्न आउँछन्। संकटाको दर्शनपछि महाङ्कालको दर्शनबाट अधिक लाभ हुने श्रद्धालुहरुको विश्वास पाइन्छ।

खुलामञ्च
खुलामञ्चको पूर्वाधार सुधार गरेर अहिले प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइएको छ। सतहको उबडखाबड मिलाएर मलिलो माटो राखेपछि १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको हो।

महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ। यही कार्यक्रमबाट सार्वजनिक निर्माण विभागले खुलामञ्च सुधार गरेर चउरमा दुबो रोपेको हो। यसका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको छ।

चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ। सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनः प्रयोग गरिएको हो।

पैदलमार्गमा २१ वटा बिजुलीका पोल राखिएका छन्। यी पोलहरु न्युरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन्। यी पोलहरुमा टु आर्म छन्। यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा एक सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिएको छ। यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन्। रातमा बल्छन्। दिनमा आफैँ निभ्छन्।

चउरबाट पश्चिमतर्फको मुख्यद्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ गर्ने ठाउँ बनाइएको छ। यो ठाउँ भलिबल, ब्याडमिन्टनजस्ता खेल र पार्किङजस्ता प्रयोजनमा ल्याउन सकिन्छ। यदि यहाँ पार्किङ गरियो भने ४० वटा चारपांग्रे र सयवटा दुईपाङ्ग्रे सवारीसाधन राख्न सकिन्छ।

यस्ता पूर्वाधार संरचना र परामर्शका लागि काम गर्न महानगरपालिकाले १० वैशाख २०८१ मा पूर्वाधार निर्माण कम्पनीसँग नीतिगत सहमतिपत्रमा हस्ताक्षर गरेको छ। यो कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व भएको कम्पनी हो। यो सहमतिका आधारमा त्यही महिनाको २३ गते खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता भएको थियो। जसअनुसार २४ वैशाख २०८१ देखि महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङको काम थालेको थियो।

ग्रेडिङ र लेभलिङको काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ। यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन्।

खुलामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ। मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ। चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ।

यो स्थानलाई बहुउपयोगी स्थानका रुपमा प्रयोग गर्ने महानगरपालिकाको योजना छ। बिहान शारीरिक अभ्यास गर्न, बालबालिकाहरुका लागि स्वतन्त्र खेल्न, पाका उमेरका व्यक्तिका लागि टहल्न, आराम गर्न र सहरी जीवन नियाल्न सकिने ठाउँका रुपमा उपयोग गरिनेछ। यो क्षेत्र मर्निङवाकका लागि उपयुक्त मार्ग हुनेछ। युवालाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ।

२०७२ सालको भूकम्पले वीर अस्पताल, दरबार हाइ स्कुललाई पुनर्निर्माण गर्नुपर्ने बनाएपछि खुलामञ्चमा निर्माण सामग्री र जनशक्ति राखेर पुनर्निर्माणको काम गरिएको थियो। काठमाडौँ टावर निर्माण गर्न ल्याइएका निर्माण सामग्री राख्न र अस्थायी बसपार्क सञ्चालन गर्न यही ठाउँ प्रयोग भएको थियो। यसरी प्रयोग गरिएको खुलामञ्चलाई सुधार गरेर पूर्ववत् सञ्चालन गर्ने योजनाअनुरुप सार्वजनिक निर्माण विभागले काम सकेर प्रशासन विभागलाई बुझाइएको, पूर्वाधार निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए।