काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
अ+
अ-

ताप्लेजुङ। फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ।

केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ। गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छ भने तीनवटा घाइते भएका छन्।

हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति पुर्याएपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष सुरज ओझाले जानकारी दिए।

स्थानीय किसान नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राखिएको खोर नजिकै फलामे खोर राखिएको हो। उनको खोरमा भालु पटकपटक प्रवेश गरेकाले पुनः आउन सक्ने भएकाले यहाँ खोर राखिएको अध्यक्ष ओझाले बताए।

निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ र नेपाल प्रहरीका प्रतिनिधिसहितको टोली हाङ्देवा गएको थियो।

स्थानीयवासीका अनुसार सोमबार राति नारायण भण्डारी र पदम गुरुङका दुईवटा बाख्रा भालुले खाएको छभने तीनवटा घाइते भएका छन्।

यसअघि गत पुस ४ गते भगिमान गुरुङका चारवटा बाख्रा भालुको आक्रमणमा मरेका थिए भने मङ्सिर २८ गते नारायण गुरुङको एउटा भेडा भालुले खाएको थियो।

भालुको आतङ्क बढेसँगै स्थानीयले घाँस, दाउरा सङ्कलन र अलैँचीखेती गर्न जङ्गल जान सकिरहेका छैनन् । वडाध्यक्ष लक्षुमन गुरुङले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन्।