काठमाडौँ। दार्चुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ। अमरबहादुरलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
‘अमरबहादुर बम बचाऊ अभियान’ ले राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। अभियानका सदस्य जन्मदेव जैशीका अनुसार अमरबहादुरको रिहाइका लागि देशव्यापी दबाब अभियान सञ्चालन गरिनेछ। साथै सरकारको ध्यानाकर्षण गराउन भन्दै पहिलो चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उनले बताए।
आन्दोलनका कार्यक्रमअनुसार ११ पुसमा प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने, १२ पुसदेखि सामाजिक सञ्जालमा तस्बिरसहित ‘सरकार निर्दोष अमरलाई बचाउ’ भनेर अभियान चलाउने, १४ पुसमा नेपालस्थित दूतावासलाई पत्र बुझाइने अभियानले जनाएको छ।
त्यस्तै १६ पुसमा प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान चलाउने, १७ पुसमा प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई एसएमएस पठाउने, २० पुसमा हस्ताक्षर गर्ने र २२ पुसमा संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाउने कार्यक्रम घोषणा गरिएको हो।