काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले भेट गरेका छन्।

कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत सम्मिलित टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भेट गरेको हो।

टोलीले विशिष्ट अवस्थामा गठन भएको यो सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्की प्रतिष्ठानको पदेन संरक्षक पनि हुन्।

भेटमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाबारे जानकारी गराएका थिए। देशभरको गीत, सङ्गीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको उनले गुनासो गरे।

प्रतिष्ठान अहिले ‘प्रिफ्याब’को अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोत-साधनको खोजीमा रहेको उनले जानकारी गराए।

नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो। त्यसैमध्येको एउटा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो।

जवाफमा कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायसँग परामर्श गरी भवन निर्माणमा सघाउन आवश्यक पहल गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।