काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

पहिले फुटे‚ अहिले जुटे

दुई राप्रपा एक‚ फुटेको तीन वर्षपछि लिङ्देन र थापाको पुनर्मिलन

९ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच एकता भएको छ। दुई पार्टीबीचको घोषणासभा भने १६ पुसमा सभागृहमा हुनेछ।

राप्रपाका नेता मोहनकुमार श्रेष्ठले बुधबार साँझ एकताको तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्‚ “राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। दुई पार्टीबीच भरखरै एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको छ। दुई पार्टीको एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ।”

त्यसअघि फेसबुकमार्फत राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताबारे जानकारी गराएका थिए। थापाले लेखेका छन्‚ “राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु।”

उसो त २३ मंसिरमा पार्टीआबद्ध काठमाडौं जिल्लास्तरीय जेन-जी फ्रन्टको भेलामा थापाले केही दिनभित्र ‘खुसीको समाचार’ सुन्न पाइने बताएका थिए।

उनले त्यसबेला भनेका थिए, “सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो।”

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वध्यक्ष थापाले २५ माघ ०७८ मा राप्रपाबाट अलग भएको घोषणा गरेका थिए।

मंसिर २०७८ मा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए। उनले ७ फागुन ०७८ मा राप्रपा नेपाल गठनको घोषणा गरेका थिए।