काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

विराटनगर। विराटचोक-घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। दुर्घटनामा उनका बुबा घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे गिट्टी बोकेर विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९७७० नम्बरको टिपरले ग्रामथान गाउँपालिका ५‚ ककडमाडीमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको प्रदेश १-०२-०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटरको पछाडि बसेका ग्रामथान ५ का १४ वर्षीय अनुप कार्की सख्त घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइएका उनलाई साँझ पौने ६ बजे चिकित्सकले मृत घोषणा गरेको मोरङ ट्राफिक प्रहरीका इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।

दुर्घटनामा स्कुटर चालक तथा मृतकका बुबा ३५ वर्षीय केशर कार्की घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र नोबेल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक सुन्दरहरैँचा नगरपालिका ४ का अन्दाजी २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार टिपरको तीव्र गतिका कारण दुर्घटना भएको हो।