काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
जनकपुरको सडकमा गुडिरहेका ई-रिक्साहरू। तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुर। जनकपुर उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापान, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ।

जनकपुरमा आज (बिहीबार) बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति बनाएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो।

समितिले बागमती प्रदेशको राजधानी हेटौँडा, कोसीको विराटनगर तथा मधेसको जनकपुर र वीरगन्ज क्षेत्रमा सञ्चालित ई-रिक्साको व्यवस्थापन, सञ्चालन रुट, अनुमति तथा दर्ताका विषयमा विस्तृत अध्ययन गरी समस्या समाधानका लागि आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्नेछ।

मधेस : जता जान पनि ई-रिक्सा

अध्ययन प्रतिवेदनका आधारमा जनकपुरमा ई-रिक्साको व्यवस्थापन प्रक्रिया अगाडि बढाइने यातायात कार्यालयका प्रमुख सिंहले जानकारी दिए। जनकपुर उपमहानगरका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, ई-रिक्सा मजदुर युनियनका प्रतिनिधि र सदस्य सचिवमा यातायात व्यवस्था कार्यालय धनुषाका एकजना अधिकृत रहने गरी पाँच सदस्यीय समिति गठन भएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए।

बैठकमा नगरप्रमुख साहसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख, ई-रिक्सा मजदुर युनियनका प्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो।

ई-रिक्साका कारण जनकपुर क्षेत्रको यातायात सञ्चालन तथा व्यस्थापनमा समस्या आउने गरेकाले उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको नगरप्रमुख साहको भनाइ छ। धनुषामा मात्र दश हजारभन्दा बढी ई-रिक्सा दर्ता भई सञ्चालनमा रहेका यातायात कार्यालय जनकपुरले जनाएको छ। -रासस

यो पनि…

जनकपुरमा व्यवस्थित बनाइँदै ई-रिक्सा

अटो चालकको छैन लाइसेन्स, यात्रुलाई ‘रिस्क’