घर निर्माणबारे शाही शासनले प्रश्न सोध्यो, गणतन्त्रकालमा घरमै जलिन्
भत्किएको मूलगेट। सिसा फुटेका झ्याल। ह्वांग ढोका। भित्ताभरि ध्वाँसो।
जेन-जी आन्दोलनको १०७ दिनपछि ९ पुसमा काठमाडौँ डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको घर पुग्दा तोडफोड र आगजनीका अवशेष यत्रतत्र आलै देखिए। आन्दोलनका क्रममा गत २४ भदौमा यही घरमा आन्दोलनकारीले आगो लगाइदिएका थिए, जतिबेला खनालपत्नी रविलक्ष्मी चित्रकार (७१) घरभित्रै थिइन्।
आगोले जलेर उनी गम्भीर घाइते भइन्। भारतमा तीन महिना उपचार गराएर सोमबार (७ पुस) मात्रै काठमाडौँ फर्किइन्। खनाल दम्पती डल्लुमै भाडाको घरमा बसिरहेका छन्, जलेको निवासबाट केही सय मिटरको दूरीमा।
आगोले रविलक्ष्मीको शरीरको १५ प्रतिशत भाग जलेको थियो। सुरुमा कीर्तिपुरको बर्न अस्पतालमा उपचार गरिएको थियो। थप उपचारका लागि ६ असोजमा दिल्लीको अपोलो अस्पताल लगियो।
घरमा आन्दोलनकारीले आगो झोसेको दिन उनी माथिल्लो तलामा थिइन्। “धुवाँको मुस्लोमा सास फेर्न नसकेर बेहोस भएछु। धन्न घोप्टो परेर लडेछु र आँखासहित महत्त्वपूर्ण अंगहरूमा क्षति हुन पाएन,” नेपालन्युजसँग उनले जीवनकै दर्दनाक दिनबारे सुनाइन्, “उपचार गर्न भारत नलगेको भए नबाँच्ने रहेछु।”
कतिसम्म भने, आगजनीको घटनापछि उनीबारे अफवाह पनि फैलियो। नेपाल र भारतका केही सञ्चारमाध्यमले उनको मृत्यु भएको समाचार प्रकाशन गरेका थिए।
उपचार गराएर फर्किए पनि रविलक्ष्मीको जलनको व्यथा पूरै सन्चो भइसकेको छैन। जलनको घाउ निको हुन निकै लामो समय लाग्ने उनले बताइन्। भनिन्, “बिस्तारै सुधार हुँदै छ।”

रविलक्ष्मी चित्रकार। तस्बिर : बिक्रम राई
छेउमा बसेका खनालको आँखामा पत्नीको पीडाको वेदना भरिएको थियो। भने, “बर्न केस भनेको अरू घाउजस्तो नहुँदो रहेछ। निको भयो भनेको, तर फुलेर आउने रहेछ।”
आगजनीले रविलक्ष्मीलाई जलनको पीडा त दियो नै, उनले शरीरको अंग पनि गुमाउनुपर्यो। पोलेको ठाँउमा संक्रमण भएपछि देब्रे हात काटिएको छ।
खनालका अनुसार उपचारका लागि भारत लैजानुअघि रविलक्ष्मी पूरै होसमा थिइनन्। भारत गएको १५/२० दिनमा पनि उनलाई घर र सबथोक जलिसकेको थाहा रहेनछ। “दराजमा यस्तो सामान राखेको छ है, फलानो ठाउँमा यस्तो छ, ख्याल गर्नू भन्थिन्,” खनालले सुनाए। त्यसको केही समयपछि मात्र उनलाई घर र सरसामान जलेको जानकारी दिइएको थियो।
२४ भदौको विध्वंसमा पूर्वप्रधानमन्त्री खनालसहित धेरै नेताका घरमा तोडफोड र आगजनी गरिए। भ्रष्ट नेताले देश लुटेर व्यक्तिगत सम्पत्ति जोडेको भन्दै आन्दोलनकारीले नेताहरूका निवासलाई निसाना बनाएका थिए। त्यस्तै अफवाह र राजनीतिक प्रतिशोधका कारण आफ्नो घर जलेको ठान्छन्, खनाल। “कतिपय मानिसले कमिसन खाएर बनाए भन्छन्। हाम्रो घर जलाउन त्यस्तो अफवाह र पूर्वाग्रहले नै भूमिका खेलेको छ,” उनले भने।
तर, मन्त्री र सांसद हुँदा जोगाएको केही पारिश्रमिक लगाएकोबाहेक घर बनाउन आफ्नो खासै योगदान नरहेको खनालले सुनाए।
रविलक्ष्मीले उभ्याएको घर
खनाल दम्पतीले २८ वर्षअघि डल्लुमा घर बनाएका हुन्। त्यसबेला त्यस क्षेत्रमा बनेको पहिलो घर थियो त्यो।
माइतीबाट जग्गा पाएको र त्यसपछि घर बनाउन निकै दु:ख गरेको रविलक्ष्मीको स्मृतिमा ताजै छ। “डेरामा अफ्ठ्यारो गरी बस्थ्यौँ। बुबाले जग्गा दिनुभएपछि घर बनाउन र घरखर्च टार्न धेरै खटेँ। ट्युसन र कलेजमा गरेर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पढाउँथेँ,” ती दिन सम्झिइन्।
निकै दौडधुप गरी कमाएर बनाएको घरमा रविलक्ष्मीको विशेष लगाव किन पनि थियो भने, घरको नक्सा पनि उनी आफैँले बनाएकी थिइन्। “दुई-चार वटा नक्सा हेरेपछि पेन र स्केलले तान्दै नक्सा कोरेकी थिएँ, इन्जिनियरले हेरेर ठीक छ भन्नुभयो र हस्ताक्षर गर्नुभयो,” भनिन्।

रविलक्ष्मी चित्रकार। तस्बिर : बिक्रम राई
२०५२ सालमा घर निर्माण सुरु भयो। निर्माण सामग्रीको त्यसबेलाको भाउ उनलाई कण्ठस्थै छ- एक टिप्पर बालुवाको ६ सय, डन्डी किलोको २६ रुपैयाँ र सिमेन्ट प्रतिबोरा २५० रुपैयाँ। “अहिलेजस्तो महँगी थिएन। २२ लाख रुपैयाँमा बनेको थियो घर,” उनले सुनाइन्।
दुई वर्षमा घर बनेपछि खनाल दम्पती साँगुरो डेराबाट ११ माघ २०५४ मा आफ्नै थातवास सरे।
घर त बन्यो, तर कुन स्रोतबाट बन्यो भनेर पहिलेदेखि नै शंका र प्रश्नले घेरेको थियो। रविलक्ष्मीका अनुसार राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा घरको विषयमा अनुसन्धान भएको थियो। भनिन्, “राजाको प्रत्यक्ष शासनको बेला घरको बारेमा फसाउन खोजेका थिए। भ्रष्टाचार नियन्त्रण शाही आयोगका अध्यक्ष भक्तबहादुर कोइरालाले घर कसरी बनाउनुभयो भनेर सोधे। मैले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म पढाउने मानिस हुँ भनेपछि चुप लागे।”
नेता खनाल त २०२०/२१ सालदेखि विद्यार्थीकालमै राजनीतिमा प्रवेश गरेका थिए। रविलक्ष्मीले पछि प्राज्ञिक फाँटलाई कर्मथलो बनाए पनि त्यसअघि उनी पनि राजनीतिमै थिइन्। राजनीतिको धागोले नै यी दुईलाई जोडिदियो र विवाहसम्म पुर्यायो।
नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो सशस्त्र विद्रोहको घटना मानिने झापा विद्रोह (२०२८ साल)ले रविलक्ष्मीलाई राजनीतिमा आकर्षित गरेको थियो। उसो त उनको परिवारमै राजनीतिक माहोल थियो। दाजु पनि राजनीतिमै थिए। ׅ“घरमा राजनीतिक विषयवस्तुमा कुराकानी हुन्थ्यो, त्यही माहोलले तानेर राजनीतिमा लागेँ,” भनिन्।
अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (कोके) मार्क्सवादी लेनिनवादीमा सक्रिय रहेका बेला खनाल २०३३ सालमा पक्राउ परेका थिए। २०३६ सालमा जनमतसंग्रहको घोषणा भएपछि पञ्चायती सरकारले राजबन्दीहरूलाई रिहा गर्न थाल्यो। त्यही क्रममा खनाल १ वैशाख २०३७ मा झापा जेलबाट रिहा भए। सीधै काठमाडौँ आए। त्यसपछि रविलक्ष्मीसँग उनको भेट भएको हो।
उनीहरूले २०३९ सालमा विवाह गरे। त्यस बखत खनाल भूमिगत गतिविधि गरिरहेको नेकपा (माले)का महासचिव थिए भने रविलक्ष्मी पनि मालेमै आबद्ध थिइन् र कलेजमा पढाउँदै थिइन्।
खनालका अनुसार उनको वैवाहिक सम्बन्ध पूर्वीय दर्शनमा भनिएजस्तै छ, एकअर्काविना अपूरो। “उनीविना म हुन्नँ र मविना उनी पनि हुन्नन्। मैले कतिपटक उनलाई बचाएको छु, उनले पनि मलाई अनेकपटक बचाएकी छिन्,” उनले भने।

झलनाथ खनाल। तस्बिर : बिक्रम राई
खनालको मूल्यांकनमा उनी र पत्नीको राजनीतिक चेतना र विश्लेषण क्षमता समान छ। तर, बहुदल आएपछि रविलक्ष्मीले राजनीतिबाट बाटो मोडिन्। उनको प्राथमिकता बन्यो- घरव्यवहार र प्राध्यापन पेसा। “दुवै जना राजनीतिमा सक्रिय हुँदा परिवार सञ्चालनमा अप्ठेरो हुने भयो, त्यसैले उनी घर र एकेडेमिक क्षेत्रमा लागिन्, म सक्रिय राजनीतिमै रहेँ,” खनालले सुनाए।
२०३९ देखि २०४६ सालसम्म मालेका महासचिव रहेका खनाल २०६५ सालमा नेकपा (एमाले)का अध्यक्ष भएका थिए। पाँचपटक सांसद भए, दुईपटक मन्त्री र एकपटक प्रधानमन्त्री बने। उनी हाल नेपाली कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता छन्।
रविलक्ष्मीले भने २०३६ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बीएडका विद्यार्थीलाई विज्ञान विषय पढाउँदै प्राध्यापन सुरु गरेकी थिइन्। २०४० सालमा स्थायी भइन् र अमृत साइन्स क्याम्पस, लैनचौरमा पदस्थापन भयो। त्यहीँबाट २०७५ सालमा अवकाश पाइन्। घर चलाउन निजी कलेजमा र घरमै ट्युसन पनि पढाइन्।
३९ वर्ष अध्यापन गरेकी उनले भौतिकशास्त्रकी कुशल प्राध्यापकको परिचय बनाइन्। विद्यार्थीमाझ प्रिय थिइन्। उनलाई प्राध्यापक र गुरुआमाका रूपमा चिनेकाहरूले २४ भदौको घटनापछि मात्रै उनी पूर्वप्रधानमन्त्री खनालकी पत्नी भएको थाहा पाएको सामाजिक सञ्जालमा लेखेका थिए। जलनमा परेपछि आफूले पढाएका धेरै विद्यार्थीले स्वास्थ्यबारे चासो राखेर सोधखोज गरेको उनले सुनाइन्। “उपचारका लागि म भारतमा बस्दा पनि विभिन्न देशमा रहेका विद्यार्थीहरूले फोन गरेको डाक्टरहरूले बताएका थिए,” प्राध्यापन कर्मबाट आर्जेको मायाबारे खुसी प्रकट गरिन्।
सरकारप्रति गुनासो
उपचार क्रममा दिल्लीमा रहँदा भारतीय राजनीतिकर्मी र सांसदहरू उनको स्वास्थ्य अवस्थाबारे बुझ्न आएका थिए। तर, नेपाल सरकारले बेवास्ता गरेको भन्दै खनालको चित्त दुखाइ छ। “सरकारले केही पनि सहयोग गरेको छैन, सोधखोज र सामान्य सहानुभूतिसमेत प्रकट गरेको छैन। मानवता नै नभएको सरकार रहेछ यो,” उनले भने। राजनीतिकर्मी र साथीभाइले उपचारमा सहयोग गरेको उनले बताए।

रविलक्ष्मी चित्रकार। तस्बिर : बिक्रम राई
खनाल दम्पतीलाई २३ भदौको जेन-जी प्रदर्शनमा राज्यको दमनबाट २१ जनाको मृत्यु भएपछि अब देशमा केही हुन लागेको पूर्वाभास थियो, तर यतिसम्मको विध्वंस होला भन्ने अनुमान थिएन। दुवैले त्यसअघि कहिल्यै आफूलाई असुरक्षित ठानेका थिएनन्।
रविलक्ष्मीले पनि राज्यप्रति विश्वास रहेकै कारण यस्तो दिन आउला भन्ने कहिल्यै नसोचेको बताइन्। “अविश्वास गरेको भए पो शंका हुन्थ्यो र आफैँ सजग भइन्थ्यो। त्यत्रो सेना र प्रहरी छ, राष्ट्रिय अनुसन्धान छ, प्रशासन छ भन्ने लाग्यो, तर २३ र २४ भदौमा नागरिक र राष्ट्रिय सम्पत्ति जोगाउने कर्तव्यमा राज्य चुक्यो,” उनले भनिन्, “राज्य राम्रोसँग चलाउन नसकेको कारण यति राम्रो हाम्रो देशमा यस्तो अवस्था आएको हो।”
२४ भदौमा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी र लुटपाट गर्ने घटनाका पछि को थिए, छानबिन गरी दोषी पत्ता लगाएर सरकारले कारबाही गर्नुपर्ने उनको माग छ। “त्यो घटनाको पछाडि को छन् भनेर सरकारले राम्रोसँग छानबिन गर्नुपर्यो, नवयुवाले पनि के बुझ्नुपर्छ भने तपाईंहरूलाई कसैले गोटी बनाइरहेको छ। जसले गोटी खेलिरहेको छ उही सत्तामा बसेको छ भने समस्या कसरी समाधान हुन्छ?” उनको प्रश्न छ।