काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
माओत्सेतुङको १३३ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओ जयन्तीको अवसरमा सम्मुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।
‘हामीले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा गरिसकेका छौँ । यसले हाम्रो वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ’, दाहालले भनेका छन्, ‘यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको कार्यभार बनेको छ ।’