काठमाडौँ। ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्ला सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडीको थुम्कोमा अवस्थित छ।
आफ्नो छुट्टै इतिहास रहेको मकवानपुर गढी आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्तको रूपमा रहेको छ।
परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ।
मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू भत्किएर जीर्ण बनेपछि जीर्णोद्धार गरिएको थियो। पुरातत्त्वले मकवानपुर गढीको भत्किएका भागहरूलाई मर्मत गरी पुरानै आकृतिमा संरचनाहरू निर्माण गरेको हो।
यहाँ चितवन, मकवानपुर र मधेश प्रदेशका विद्यार्थीहरु अध्ययन भ्रमण र पिकनिक खान आउने गरेका छन्। यहाँको ऐतिहासिक महत्त्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोहीलाई प्रसन्नता प्रदान गर्ने गरेको छ।