१२ पुष २०८२
अ+
अ-

झापा। मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ।

आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए।

आश्रमको १७ औँ शाखाको पमा २०८१ मंसिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ। शाखाको समग्र सम्पत्ति दुई करोड २६ लाख ७१ हजार ११८ रहेको र आश्रमको अक्षयकोषमा दुई लाख ५२ हजार ८८०, नगद मौज्दात २१ हजार १८९ र बैंक मौज्दात नौ लाख २७ हजार ११३ रहेको जनाइएको छ।

मेचीनगर–४ मा आश्रमको आफ्नै भवन रहेको छ । स्थानीय समाजसेवी रामबहादुर प्रधानको परिवारले दान दिएको दुई बिघा पाँच कट्ठा जग्गामा आश्रम सञ्चालन रहेको छ।

उद्धार गरिएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गराइएको र हाल झापा शाखामा ७२ जना आश्रित संरक्षणमा रहेको संयोजक विश्वकर्माले जानकारी दिए।