१२ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले तीन प्रमुख दलका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर यो तपाईंहरूकै घर रहेको बताएकी छन्।

उनले पूर्वप्रधानमन्त्रीत्रय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ नेकपा एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटारमा आएकामा धन्यवाद पनि दिइन्।

“मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो‚ धेरै धन्यवाद र स्वागत छ। यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ‚” कार्कीले पूर्वप्रधानमन्त्रीत्रयलाई बालुवाटारमा बोलाएर भनिन्। उनले आफू पूरै निर्वाचन सफल बनाउन जुटेको पनि जानकारी दिइन्।

२१ फागुनको निर्वाचन सबै मिलेर सफल बनाउन कार्कीले आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तीन शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीले भनिन्‚ “प्रशासनिक काम-कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु। मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ।”

उनले सुरक्षाकर्मीको मनोबल बढेकामा निर्वाचन सुनिश्चित रहेको पनि आश्वस्त पारिन्। निर्वाचन सबैको जिम्मेवारी रहेकाले सफल पार्न कार्कीले आग्रह पनि गरिन्। “हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोत-साधन उपलब्ध गराएका छौँ। भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ‚” प्रधानमन्त्री कार्कीले भनिन्‚ “सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ। अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ।”