काठमाडौँ। नेपाल कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा कारबाहीमा परेका नेता-कार्यकर्ताको कारबाही फुकुवा गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले विकसित राजनीतिक व्यवस्था‚ आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न सचेत गराउँदै कारबाही फुकुवा गरेको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विगतको निर्वाचनमा उम्मेवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका‚ तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका काम गरेकालाई पार्टी अनुसशासन समितिले कारबाही गरेको थियो। निष्काशन‚ निलम्बन र पार्टीको विधानअनुसार स्वत: कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी मिनाहा गरिएको पौडेलले बताए।
कारबाही माफी भएका व्यक्तिहरूको क्रियाशील सदस्यता कायम गरी नवीकरण गर्ने निर्णय बैठकले गरेको छ। यसरी कारबाहीमा परेका व्यक्तिहरूको कारबाही फुकुवा गर्न वरिष्ठ नेता शेखर कोइरालाले जोड दिँदै आएका थिए।
बैठकले पार्टी परित्याग गरेकालाई फर्किएन आह्वान गरेको छ। फर्किनेहरूलाई क्रियाशील सदस्यतासहित जिम्मेवारी दिइनेछ।
बैठकले विभिन्न पेसा‚ व्यवसाय र विविध क्षेत्रमा रहेर राष्ट्र तथा जनताको सेवामा समर्पित व्यक्तिहरूलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
बैठकले आसन्न महाधिवेशनमा समानुपातिकतर्फका ११० जना उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ गरेको छ। बैठक आइतबार ११ बजे पुन: बस्नेछ। कार्यसम्पादन समिति बैठक ९ पुसदेखि केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।
