१२ पुष २०८२
अ+
अ-

काठमाडौँ। लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय राहुल तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई गत भदौ ५ गतेदेखि कारागार कार्यालय सिन्धुलीमा कैद भुक्तान गरिरहेका थिए। तर, गत भदौ २४ गते सिन्धुलीमा भएको प्रदर्शनका क्रममा उनी कारागारबाट फरार भएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका तामाङ कारागारबाट भागी फरार भएका थिए। पछिल्लो समय उनले पुनः लागुऔषधको बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास तीव्र पारिएको थियो। सोही क्रममा चन्द्रागिरि नगरपालिका–१०, बलम्बु क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो।’

प्रहरीले तामाङको साथबाट ठूलो मात्रामा लागुऔषधजन्य ‘इन्जेक्सन’समेत बरामद गरेको जनाएको छ। बरामद लागुऔषधमा डाइजोपाम इन्जेक्सन १५ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १८ थान तथा बुप्रेनोर्फिन इन्जेक्सन १७ थान रहेका छन्।

प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक–पटक लागुऔषधसम्बन्धी अपराधमा संलग्न रहेका थिए। उनीविरुद्ध २०७८ साउन २९ गते प्रहरी वृत्त थानकोटमा लागुऔषध मुद्दा दर्ता भएको थियो भने २०८२ असार १३ गते प्रहरी कार्यालय सिन्धुलीमा पनि लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको अभिलेखमा उल्लेख छ।

यसका साथै, गच भदौ २४ को प्रदर्शनका क्रममा कारागारबाट भागी फरार भएको विषयमा समेत छुट्टै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधको अवैध कारोबार समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ। प्रहरी उपरीक्षक आचार्यले लागुऔषध नियन्त्रणका लागि नियमित निगरानी, सूचनाको आदानप्रदान र कडाइका साथ कारबाही जारी रहने बताए।